एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ :
सामाजिक रूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि समाजवाद आवश्यक रहेको वामपन्थी नेताहरुले जोड दिएका छन् । नेकपा विप्लवले जनकपुरधाममा आयोजना गरेको वर्तमान स्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरकृया कार्यक्रममा नेताहरुले वर्गिय संघर्ष न्युनीकरणका लागि समाजवाद नै उत्तम विकल्प रहेको नेताहरुले बताएका थिए ।
कार्यक्रममा नेकपा विप्लवका पोलिटब्युरो सदस्य भेषराज सिले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए । समाजवाद कार्यान्वयनबाट नै वर्ग सङ्घर्ष अन्त्य हुने उनको भनाइ थियो । उनले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए । जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान जनयुद्ध गरेको बताउँदै पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।
सामाजिक रूपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठिक रहेको बताउँदै कम्युनिष्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गरे ।
नेकपाको पूर्वी ब्युरो जनकपुरका रामकुमार सिको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक यादव, नेकपाका पोलिटब्युरो सदस्य त्रीलोक सि., जिल्ला ईन्चार्ज तिलक सि. लगायतले बोलेका थिए ।