एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ : भडकाउ भाषण गरेको भन्दै पक्राउ परेका धर्मगुरु निवासाचार्यलाई धनुषा प्रहरीले रिहा गरेको छ । असोज १२ गते गाईको हत्या विरुद्व जनकपुरधाममा भएको प्रदर्शनमा बिबादित बोलेको भन्दै उनलाई धनुषा प्रहरीको आग्रहमा सुनसरीमा पक्राउ गरिएको थियो ।
बुधबार जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर बिहीबार धनुषा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिइएपनि साँझ उनलाई रिहा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा बयान लिएपछि उनलाई कानूनी प्रक्रिया पुरा गरि रिहा गरिएको छ ।

रिहा भएपछि जानकी मन्दिरमा दर्शनका लागि पुगेका उनको रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीनिवासलाई स्वागत समेत गरेका छन् । रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु निवासाचार्यलाई रिहाई नगरिएको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । आज पनि साधुसन्तहरुको एक समुह नारावाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडि उनको रिहाईका लागि पुगेका थिए ।

असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले जनकपुरधाममा निकालेको विरोध रयाली कार्यक्रममा बोल्ने क्रममा धर्मगुरु श्रीनिवासले हातमा खुकुरी देखाउँदै गौहत्या गर्नेको घाँटी काट्नु पर्ने बिबादित टिप्पणी गरेका थिए । सोही टिप्पणी सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरीमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

तस्वीर : खोजवानीबाट