एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ : नेकपा एमालेले मधेशमा गत आम निर्वाचनका चर्चित अनुहारहरुलाई धमाधम पार्टी प्रवेश गराउन थालेको छ । मधेशको राजधानी जनकपुरधाममा असोज २४ र २५ गते मधेशको पहिलो अधिवेशनको तयारी समेत गरिरहेको एमालेले गत उप निर्वाचनमा बारा २ बाट उपेन्द्र यादव विरुद्व लडेका जनमतका चर्चित उम्मेदवार शिवचन्द्र पार्टी कुशवाहालाई प्रवेश गराएको छ ।
काठमाण्डौंको पार्टी मुख्यालयमा कुशवाहा एमाले अध्यक्ष ओलीको हातबाट पार्टी प्रवेश गरेका हुन । त्यस क्षेत्रमा पटक पटक प्रतिनिधीसभा सदस्यमा चुनाव लडेका कुशवाहा उप निर्वाचनमा चर्चामा रहे । उपेन्द्र यादवसंग पराजित भएका उनी केहि दिन आफनै पार्टी निर्माणका लागि प्रयास गरेपनि अन्तत: एमाले रोजेका छन् । उनलाई सो क्षेत्रबाट पुन: चुनाव लडाउने गरि पार्टी प्रवेश गराईएको बताइन्छ ।
चुनावको परिणाम पछि कुशवाहा आफुलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले धोका दिएको र नियोजित रुपमा चुनाव जिताउने भन्दा पनि पार्टीको प्रचार र संगठनका लागि मात्र काम गरेको आरोप लगाउदै जनमत परित्याग गरेको बताएका थिए ।
किशोरी साह ‘कमल’ पनि फर्किने
एता एमालेले टिकट नदिएपछि धनुषा १ प्रतिनिधीसभामा जनमत पार्टीबाट चुनाव लडेर कांग्रेस र एमाले नेतृत्वको गठबन्धन (मातृका यादव/दिपक कार्की) संगको प्रतिस्पर्धामा तेस्रो स्थानको मत ल्याएका किशोरी साह कमल पुन: एमाले फर्किन लागेको चर्चा छ ।
केहि दिन पुर्व साहले पनि जनमतमा आफु गएर गल्तीको गरेको मनशाय सहितको टिप्पनी गरेका थिए । उनले अहिले सम्म एमालेमा औपचारिक पार्टी प्रवेश भने गरेका छैनन ।
एमाले स्रोतका अनुसार उनको पनि पार्टी प्रवेशको कार्यक्रम रहेपनि कारणवस तत्काल हुन नसकेको हो । जनकपुरधाममा मधेश अधिवेशनमा पार्टीका शिर्षस्त नेताहरु आउने भएकाले उनको प्रवेश सोहि अवसरमा हुन सक्ने अनुमान गरिएको छ ।