एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ : धर्मगुरु श्रीनिवासाचार्य विरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले बिहीबार श्रीनिवासाचार्यलाई जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
प्रहरीले उनी विरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ । बयान लिने काम भइरहेको र आजै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज खड्काले बताए । “जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति मिलेको छ, हामी आजै मुद्दा दर्ता गराउने तयारीमा छौं,” खड्काले भने । अदालत स्रोतका अनुसार यस्ता मुद्दामा धरौटीमा रिहा हुने सम्भावना हुन्छ ।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। यसमा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ । जनकपुरमा असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्यालीमा श्रीनिवासाचार्यले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसपछि असोज १६ गते सुनसरीको चक्रघट्टीबाट उनलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हिमालखवरको सहयोगमा