एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ : जहाँनिया राणा शासन अन्त्य गरी नेपालको प्रजातान्त्र स्थापनामा महात्मा गाँधीको ठूलो योगदान रहेको कुरामा वक्ताहरुले जोड दिएका छन् ।
सोमवार अन्तराष्ट्रिय अहिंसा दिवस तथा १५४ औं महात्मा गाँधी जन्मजयन्तीको अवसरमा जनकपुरधाममा श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘आजको सन्दर्भमा गान्धीको विचार गोष्ठी’ कार्यक्रम वक्ताहरुले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सांसद शेषनारायण यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महात्मा गान्धीको ठूलो योगदान छ । उनले भने महात्मा गान्धीको सत्याग्रह आन्दोलन सहित विचार र सिद्धान्तले ब्रिटिश शासनबाट भारत मुक्त भए झै नेपाल पनि जहाँनिया राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना भएको हो ।
नेपालबाट निर्वासित भई भारत पुगेका बिपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायतका स्वतन्त्रता सेनानीहरु नेपालमा गान्धीको विचार र सिद्धान्तको बलमा प्रजातान्त्रिक आन्दोलन गरेर वर्षौदेखिको जहाँनिया राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी इन्जिनीयर प्रकाशचन्द्र साहले गान्धीको विचार र सिद्धान्त बारे प्रकाश पार्दै धर्मनिरपेक्षले गर्दा जसरी आज भारत बरबाद भइरहेको छ त्यसरी नै नेपालमा पनि बरबाद हुन लागेको भन्दै दुख व्यक्त गरे । उनले भने गान्धी कहिलेपनि धर्मनिरपेक्षको पक्षमा थिएन । उनको इच्छा विपरित गरिएको धर्मनिरपेक्षले आजसम्म गृहद्वन्दमा फँसेर जसरी भारत बरबाद भइरहेको छ । त्यसरी नेपाल पनि धार्मिकद्वन्दमा फंसेर बरबाद भइरहेको छ ।
पुस्कालयका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा समाजसेवी कृष्णचन्द्र साह वडाध्यक्ष पुण्यप्रसाद यादव लगायतका वक्ताहरुले पनि गान्धीको योगदान बारे आ आफ्ना विचार राखेका थिए । कार्यक्रममा स्थानीय श्री जनता मावि बेल्ही र श्री माध्यमिक विद्यालय मुजेलियाका कक्षा ८ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई सम्मान गर्दै पुरस्कृत गरिएको थियो ।