एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : विगत केहि दिन एता देशको विभिन्न क्षेत्रमा डाक्टर कुटेको विरोधमा जनकपुरधामका चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् । मणिपाल पोखरा, गुल्मी, चितवनलगायत नेपालको विभिन्न ठाउँहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको निरन्तरको आक्रमणको घटनामा दोषीको कारबाहीको मांग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले शान्ति सुरक्षाको प्रत्याभुति गराउँ, चिकित्सक कुटन पाइदैन, स्वास्थ्य मन्त्री राजिनामा दे, गृहमन्त्री राजिनामा दे सहितका नारावाजी गरेका थिए । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको नेतृत्वमा चिकित्क तथा स्वास्थ्यकर्मीले एकै पटक प्रदर्शन गर्दै कुटपिट सहितका घटनामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: जनकपुरधामको प्रादेशिक अस्पताल पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै चिकित्सकसंघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले पछिल्लो समय चिकित्सकहरुमाथि भएको आक्रमणले आफूहरु असुरक्षित महसुस गरिरहेको बताउँदै शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाहीको माग गर्दै त्यसो नभए कडा आन्दोलन गर्ने चेतनावी समेत दिए ।
प्रर्दशनमा प्रादेशिक अस्पतालका निर्देशक डा. राम नरेश पण्डित, प्रवक्ता डा. रामज्ञान यादव सहित चिकित्सक, नर्श, ल्याव टेकिनिसियन, स्वास्थ्यकर्मी सहितको उपस्थिती थियो ।