एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : दशकौं दशक देखि धनुषाको सप्तपोखर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबममा यस वर्ष करिव २३ हजार बोलबम तिर्थयात्री सहभागि भएको बताइएको छ । यो संख्या कमला नदीमा जल भरेर सप्तेश्वरनाथ मन्दिरमा चढाउने बोलबम यात्रीहरुको मात्र रहेको र यस्मा मेला भर्नेहरु नपर्ने बताइएको छ ।
सबैला नगरपालिका वार्ड नं.६ का वडा अध्यक्ष पुजन यादवले यस वर्ष काँवरियाहरुको गणना गराएको र गएराति २ बजेदेखि बिहीबार दिनभरमा जम्मा २२ हजार ६ सय ९६ जनाले श्री सप्तेश्वर महादेवको शिवालयमा जल चढाएको बताइएको छ । यस मेलामा बोलबम यात्री र दर्शनालुहरुको भिडभाड लाग्ने गर्दछ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया स्थित कमला र चारनाथ नदीको संगम स्थल (घाट) मा जल भरेर सबैला नगरपालिकाको सतोषर स्थित बाबा सप्तेश्वरनाथ महादेवलाई जल अर्पण गर्ने यो बोलबम मेला एकदमै पुरानो र भिडभाड हुने मेला हो । अनन्त चतुर्थीको दिन लाग्ने सो मेलामा यस वर्ष पनि उल्लेखय सहभागिता देखिाएको छ । बैदेशिक रोजगारीमा यस क्षेत्रबाट जाने अत्याधिक युवाहरु पलायन हुन लागेपनि मेला हुने भिडभाड विस्तारै कम हुदै गएको पनि देखिन्छ ।

पूर्वी धनुषा सहित अन्य विभिन्न स्थान र भारतको विहारवाट समेत प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गर्दछ । राजर्षि राजा जनकको नगरी मिथिलाको राजधानी जनकपुरधामको रक्षका रुपमा रहेको चारवटा महादेव मध्येका एक सप्तेश्वरनाथको दर्शन र जल चढाउन यहाँ भिडभाड लाग्दछ ।
जल चढाउन आउने बोलबमका यात्री श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ । करिव १२ किलोमिटरको यात्राको क्रममा बोलबम तिर्थालुहरुलाई बरमझिया, रघुनाथपुर, बरकुर्वा, सबैला सहितका ठाँउमा स्थानियहरु विभिन्न सेवा र स्वागत गर्ने गर्दछ ।
सतोषर पुग्ने क्रममा बोलबमका तिर्थालुहरुको घुइचो बाटोमा पर्ने रघुनाथपुर स्थित श्री हरिहरनाथ मन्दिरमा पनि लाग्ने गर्दछ । उनीहरु त्यहाँपनि जल अर्पण र दर्शन गर्ने गर्दछ । झन यस वर्ष सो मन्दिरमा पनि शिवलिङ्ग, नन्दी महाराज सहितका देवी देवताको प्रतिमा स्थापित गराईपछि मन्दिरको रौनक बढेको छ । बोलबम समान्यता साउन महिनामा हुने भएपनि हाल सबैला नगरपालिकाको सतोषर स्थित सप्तेश्वरनाथमा प्रत्येक वर्ष आनन्द चतुदर्शीको दिन बोलबम मेला लाग्ने गर्दछ ।

बोलबममा सहभागि भएर जल चढाउनाले मनोकामना पुरा हुने आस्था अपार रहेकाले यसपालि पनि मेलामा भिडभाड देखिएको छ । सतोषर पुगेपछि मन्दिर छेउमै रहेको एतिहाँसिक सरोबरमा पुन: स्नान गरि विधि पुर्वक काँवरमा ल्याएको जलको पुजापाठ गरि बोलबमयात्रीहरु बाबा सप्तेश्वरनाथ महादेवमा जल अर्पण गर्ने गरेका छन् । यात्राका क्रममा तिर्थालुहरु बोलबम सहितका नारा लगाउने गर्दछ भने बाटोमा पर्ने गाँउका स्थानियहरु दर्शनालुको रुपमा सहभागिता जनाउने गर्दछ ।