एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले संघियता बिरोधीहरु सामाजिक सदभाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन् । पछिल्लो समय मधेस प्रदेशमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप बढिरहेको समयमा मुख्यमन्त्री यादवले यो क्रियाकलापमा संघियता नचाह्नेहरु सक्रिय रहेको बताए ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्माबलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सामाजिक सदभाव बिगार्नेहरु तथा संघियता बिरोधीहरुबाट अहिले सचेत हुनु आवश्यक रहेको बताए । यद्यपि संसारको कुनै शक्ति संघियताको बिरोधमा लागेपनि संघियतालाई खारेज गर्न नसकिने उनको भनाई थियो ।

मुख्यमन्त्री यादवले प्रदेश सरकारसंग आफ्नो प्रशासन नहुँदा सामाजिक सदभाव बिगार्नेहरु बिरुद्ध कारबाहीसम्म गर्न नसकिरहेको गुनासो गरे । संघ सरकारसंग सब थोक भएपनि त्यस्ता तत्वहरुलाई कानूनी दायरामा नल्याई रहेकाले त्यस्ता तत्वहरुको मनोबल उच्च हुँदै गईरहेको उनले बताए । संघ सरकार समेत सामाजिक सदभावमा आँच पुर्याउनेहरु बिरुद्ध कुनै कारबाही नगरिरहेकाले संघ सरकार आफै संघियता बिरोधी रहेको मुख्यमन्त्री यादवले आरोप लगाए ।

कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सदभाव तथा भाइचाराको सन्देश दिएकाले उनले दखाएको बाटो अनुसरण गर्न आग्रह गरे । पैगम्बर मोहम्मदले देखाएको बाटो अनुसरण नगर्दा पछिल्लो समय समाजमा सामाजिक सदभाव खलबलाउनेहरु सक्रिय हुँदै गईरहेको उनको भनाई थियो । उनले सम्पूर्ण इस्लाम धर्माबलम्बी पैगम्बर साहबले देखाएको बाटो मात्रै अनुसरण गरे उनको जन्म दिवसले सार्थकता पाउने नेतृ महतोको भनाई थियो ।