एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : राष्ट्रिय जनावर गाईको देशव्यापीरुपमा हत्या भइरहँदापनि सरकारले कानुन बमोजिम कारवाही नगरेको भन्दै साधुसन्तहरु जनकपुरधाममा प्रदर्शन गर्ने भएका छन् । मुलुकमा श्रृंखलावद्धरुपमा गाईको हत्या भइरहेकोमा जानकी मन्दिरका सहायक महन्तले आफ्नो ध्यानार्षण भएको जनाउँदै विरोध प्रदर्शनको तयारीमा जुुटेको बताएका छन् ।
उनले यसका लागि यही असोज १२ गते शुक्रवार जनकपुरधाम विरोध प्रदर्शन गरिने समेत बताएका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले श्रृंखलावद्धरुपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावर समेत रहेको हिन्दु धर्ममा माता भनेर पुज्यनिय गाईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै कडा आन्दोलन गर्ने जनाएका छन् ।
धरानदेखि खोटांगसम्म हत्या हुँदा पनि सरकारले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी उनले दिए । उनले भने, ‘मुलुकमा गौहत्या व्याप्तरुपमा भइरहँदापनि सरकारले कानमा तेल हालेर सुतेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा गौहत्याको विरोधमा विरोध प्रदर्शन गर्दैछौँ ।’
शुक्रबार जनकपुरधाममा हुने विरोध प्रदर्शन सचेत गराउने कार्यक्रम हो त्यसले पनि सरकार नसुने कडा आन्दोलन गर्ने उनको चेतावनी छ । विरोधसभामा हजारौँ सनातन हिन्दु धर्मावलम्बीलाई उतार्ने तयारी भइरहेको छ । यसका लागि विभिन्न व्यवस्थापन उप समितिहरुसमेत गठन गरिएको उनले बताए ।