एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : जनकपुधामको एक सार्वजनिक पोखरी कब्जा गर्न ला।गिएको बिरोधमा स्थानीय एकठाउँमा उभिएका छन् । जनकपुरधाम १३ स्थित कवर्डहल नजिक रहेको भगवाना पोखरी भूमाफियाले कब्जा गरेको उनीहरुको आरोप छ ।
वर्षौदेखि सार्वजनिक रहेको ती पोखरी संरक्षक नै भक्षक भई मालपोत कार्यालय धनुषाको सहयोगमा भूमाफियाहरुसँग मिलेर विभिन्न व्यक्तिको नाममा किताकाट गरी विक्री वितरण गरिएको छ । पोखरीलाई कब्जामुक्त बनाउनका लागि स्थानीय अग्रसरता लिएका छन् ।
दूई कित्तामा गरी १६ कट्ठा ६ धूर एक कनमा क्षेत्रफलमा रहेको सो पोखरी कित्ताकाट गरी विभिन्न १६ व्यक्तिको नाममा भूमाफियाले रजिष्ट्रेशन गरिसकेको छ । विभिन्न व्यक्तिको नाममा रजिष्ट्रेशन गरिएको ती रजिष्ट्रेशन बदर गरी पुर्वस्थितिमा सार्वजनिक पोखरी कायम गरी पाउँ भन्दै जिल्ला अदालतमा स्थानीय मिथिला ठाकुरले मुद्दा समेत दर्ता गराएका छन् । गत वर्षको जेष्ठ २४ गतेका दिन उनले मुद्दा दर्ता गर्दा सो मुद्दामा अदालतले रोक्का गरेको छ ।

जिल्ला अदालतका न्यायधिश तिर्थराज केसीले सरोकारवाला व्यक्तिको फुकुवा गर्न निवेदन आएमा पुन: विचार हुने हुँदा हालको निवेदनमा ती जग्गा कुनै प्रकारले हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा राख्न मालपोत कार्यालयलाई निर्देशन दिदैं रोक्का गरेको हो । अदालतले गतवर्ष जेष्ठ १० गते नै मालपोत कार्यालयलाई जग्गा रोक्का राख्न पत्राचार समेत गरिसकेको छ ।
अदालतबाट रोक्का गरिएकै स्थितिमा पोखरीको जग्गा आफ्नो हो दाबी गर्ने भूमाफियाहरुले प्रहरीको सहयोगमा पोखरी माटोले पुर्न थालेपछि स्थानीयले विरोध गर्दै अवरोध गरेका छन् । स्थानीयले मंगलवार पोखरीको डिलमै एक पत्रकार सम्मेलन गरी सार्वजनिक पोखरी भूमाफियाहरुले कब्जा गरेको खुलासा गरे । सो पत्रकार सम्मेलनमा स्थानीय रामआशिष दासले पोखरीको ऐतिहासिकता बारे जानकारी गराउंदै भूमाफियाहरु कसरी कब्जा गरे बारे विस्तृत जानकारी गराए ।

वडा कार्यालय समेतले सार्वजनिक पोखरीको संरक्षण र जिल्ला अदालतको आदेश कार्यान्वयन गर्दै दोषीहरुलाई माग सहित भदौ १० गतेका दिन सरोकारवाला निकाय जिल्ला समन्वय समिति, जनकपुर वृहत्तर क्षेत्र विकास परिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय र जनकपुरधाम उपमहानगरपालिकालाई पत्राचार गरेको छ ।
फिल्डबूकमा सार्वजनिक पोखरी उल्लेख रहेको अवस्थामा मालपोत कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी नक्कली कागजात तयार पारी भूमाफियाहरुले विभिन्न व्यक्तिहरुको नाममा दर्ता गरिएको रजिष्ट्रेशन बदर गरी पुन: पोखरी नै कायम गर्न आफूको माग रहेको स्थानीय रामआषिश दासले पत्रकार सम्मेलनमा भने ।

वि.सं. २०२६ सालको सर्वे नापीमा साबिकको गाउँ पञ्चायत पिडारी वडा नम्बर ५ (क) कित्ता नं. ५१ को १५ कट्ठा क्षेत्रफलमा रहेको ती पोखरी हालको शहरी नापीमा दुई कित्तामा विभाजित भई १६ कट्ठा ६ धुर एक कनमा भएको छ । हालको नापी अनुसार जिनकपुरधाम उपमहानगरपालिका १३ को सिट नंं. १३१४—०५ को कित्ता नं. २९ मा ८ कट्ठा ३ धुर ३ कनमा र सोही सिटको कित्ता नंं. २२ मा ८ कट्ठा २ धुर ३ कनमा भएको विभाजित रहेको छ । साबिकको सर्भेनापी र हालको शहरी नापी दुवै फिल्डबूकमा ती किताको जग्गा पोखरी नै रहेको छ ।