एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान निमार्णमा व्यापक अडचन रहेको भएपनि संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेवाङ विचलित नहँुदा मात्र सम्भव भएको र देशले संविधान पाएको बताएका छन् ।
जनकपुरधाममा नेवाङको स्मरणमा आयोजित नेपालको संविधान निर्माणमा कमरेड सुवास चन्द्र नेवाङ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मस्यौदा समितिको संयोजक मस्यौदा तयार गरि सकेर अन्तिममा मेरो यस्मा सहमती छैन भन्ने सम्मको अवरोध भएपनि नेवाङको अविचलित अठोटका कारण संविधान घोषणा सम्भव भएको बताएका छन् ।
नेपालको राजनितिमा नेवाङ समस्या बल्झाउने होइन समस्या मिटाउने रसायन जस्तै रहेको उनले बताए । चाहे आफनो पार्टीमा होस कि समग्र राजनितिक समस्या र कठिनाईमा नेवाङकै पहलकदमी र सक्रियतामा अनेकन समस्याहरुको समाधान भएको उनले बताए ।
संविधान निर्माणमा सबै पार्टीलाई मिलाउने पुलको काम पनि वहाँले नै गरेको स्मरण गर्दै पार्टी सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले नेवाङको मिलनसार व्यवहारबाट सिकेर मधेशमा पार्टीको संगठन विस्तार र नेता कार्यक्रता बिचको मेलमिलापमा लाग्न र २०८४ मा पार्टीको एक्लै सरकार बनाउन मेहनत गर्न आग्रह गरेका छन् ।
सो अवसरमा नेता कार्यक्रताहरुले नेवाङको तस्वीरमा अविर र पुष्प अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए । लिलानाथ श्रेष्ठ, जुली महतो, ज्वाला साह, रामअवतार यादव, सुमन प्याकुरेल, सरोज यादव सहितको नेताहरुको उपस्थिती थियो ।