एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखा सम्म पानी पुर्याउँदा स्थानिय लाभान्वित हुने भएको छ । । यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्र भन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर लामो छ ।
पूर्वपश्चिम राजमार्गलाई छिचोल्दै १४ किलोमिटर दक्षिणमा रहेको पश्चिमी नहर प्रणालीको मूल नहर सिमरारी गेटबाट खजुरी शाखा नहर थप १५ किलोमिटर सम्म सिंचीत गर्ने छ । केही वर्षयता सिमरारी गेट र सीमावर्ती खजुरीको बिचमा रहेको काजीपैनीको साइफन (नदीमुनिबाट पानी लिएर जाने संरचना) बाट पूर्ण क्षमतामा पानी बहाव नहुँदा कमला नदीको खजुरी शाखाको पुछारसम्म पानी प्रवाहित हुन पाएको थिएन ।
कमला नदी प्रणालीको पश्चिमी नहर प्रणालीबाट निस्केका चार वटा शाखा नहर छन् । यसको माथिल्लो भेगमा रघुनाथपुर र परवाहा शाखा नहर छन् भने तल्लो भेगमा महिनाथपुर र खजुरी छन् । ति सबै शाखा नहर हुलाकी राजमार्ग पार गर्दै भारतीय सीमासम्म नै सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छन् ।
“एउटा शाखा नहरबाट मात्र करिव करिव पाँच हजार बिघा जग्गामा सिँचाइ गर्छ,” कमला व्यवस्थापन आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले भने, “शाखा नहरमा पूर्ण क्षमतामा पानी पठाउन साइफन सफा तथा नहरका विभिन्न ठाउँमा उम्रेका झारपात उखेलेर कृषकलाई खडेरी परेका बेला पनि पानी दिन सफल भएका छौँ ।”
कमला नदीको पश्चिमी नहर प्रणालीबाट साढे १२ हजार हेक्टर जग्गा सिञ्चित हुने गरेको छ । कमला नहर प्रणालीबाट सिँचाइका लागि पानी प्राप्त गरेपछि धनुषाको दक्षिणी भेगका किसानहरू खुसी छन् । धनुषाको बालाबाखरका किसान भोला यादवले धान, काउली, खुर्सानी, बैगन आदि खेतीका लागि कमला नहरको पानी वरदान साबित भइरहेको हर्ष व्यक्त गरे ।
बिउ तयार पार्न जेठ महिनामा पानी दिइएको दाबी गर्दै प्रमुख यादवले नदीमा कम पानी हुँदा पनि कमला पश्चिमी प्रणालीका चार वटै शाखामा आलोपालो गरी असार र साउन महिनामा समेत पानी दिइएको जानकारी गराए । यद्यपि यस पटक वर्षा नहुँदा साउन ५ गतेसम्म कमला नदीमा जलस्तर सामान्य भन्दा निकै तल पुगेको थियो । कमला सिँचाइ व्यवस्थापन प्रणाली पानीको भण्डारण गर्ने संरचना नभएर डाइभर्सन हो । पानी अभावमा असार १५ गतेबाट रोपाइँ सुरु गर्न नसकेका किसानले असारको महिनामा बिउ उमार्न र साउनमा बिउ रोप्न नहरको पानी प्रयोग गरेका थिए।
साइफनबाट पूर्ण क्षमतामा पानी नबग्दा केही समयअघि परवाहा शाखा प्रणाली समेतमा पुछार सम्म पानी पुग्न सकेको थिएन । मूल नहरको अन्त्य हुने सिमरारीबाट शाखा नहरहरू परवाहा २२, रघुनाथपुर १२ र महिनाथपुर १२ किलोमिटर दुरीसम्म छन् । महिनाथपुर शाखा नहरबाट सिँचाइका अतिरिक्त सडक सुविधा, गाई वस्तुलाई पानी खुवाउने र नुहाउने, भाँडाकुँडा पखाल्ने, लुगा धुने र नुहाउने, हाँसपालन र नहरबाट माछा मार्ने सेवा समेत उपलब्ध गराइएको छ ।
धनुषा र सिराहाको सीमा नदी कमलामा सिँचाइ आयोजनाको शिलान्यास वि.सं. २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले गरेका थिए । ततपश्चात निर्माण कार्य सुरु भएर अवरोधहरुका बिच अधुरो अवस्थामै गत २०४० साल देखि पूर्व सिराहा र पश्चिम धनुषामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । सिराहामा पनि साढे १२ हजार हेक्टरमा यस आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध रहेको बताइएको छ ।