एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : मिथिलाञ्चल क्षेत्रमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । सोमवार जनकपुरधाम सहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा प्राथमिकताका सार्थ हिन्दुधर्मावलम्बीहरुद्वारा चौरचन पर्व मनाइने गरिन्छ ।
प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमा र भगवान गणेशलाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । व्रत बसेकी व्रतालु महिलाहरु साँझ चन्द्रमा देखिने वितिकै आ–आफ्नो घरको आँगन वा छतमा लिपपोत गरि चामल पिठोको घोलले घेरा र चन्द्रमाको आकृती बनाई पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमा लाई अघ्र्य दिएर यो पर्व मनाउँछन् ।
यस पर्वको लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन् । साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका खिर पुरी दही फलफुल सहितका पूजा र अन्य सामग्री आँगनमा लिपपोत गरि माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्दछिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्दछिन् ।
त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी हातमा फलसहित दर्शन गर्दछन् । आजै भगवान श्री गणेशको पुजाआराधना गरि गणेश चतुर्थी समेत मनाइदै छ भने बिश्वकर्मा पुजा र हरितालिका तीज पनि आजै मनाइदै छ । चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफूल तथा खीर र पुरी अर्पण गर्ने गर्छन् ।
चन्द्रमाको पुजा हुने भएकाले यो पर्वमा घरको आँगन र छतमा पुजा हुन्छ । साथै देशैभरि आजै धुमधामका साथ भगवान शिव र माता पार्वतीको पुजा आराधना गरि हरितालिका तीज र मेशनरी तथा फलामे औजार सहित भगवान बिश्वकर्माको पुजा समेत आजै मनाइदै छ ।