एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ : जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघियता कार्यान्वयनका लागि कुनै पनि काम भइनरहेको भन्दै निरन्तर आन्दोलनको लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सङ्गठन विस्तार अभियानको समुदघाटन गर्दै यादवले संविधान घोषणा भएको आठ वर्ष बित्न लागिरहँदा ति संविधानको मुल मस्तिष्क संघियता कार्यान्वयनका लागि आठवटा पनि कानुन बन्न नसक्नु षडयन्त्र रहेको बताएका छन् ।
संघियता अनुसार प्रदेश सरकार बन्यो तर बिना प्रहरी प्रशासनको, बिना कर्मचारी र अदालतको, मधेशको जनसंख्या ५३ प्रतिशत तर संसदमा प्रतिनिधीत्व ४० प्रतिशत पनि छैन, यि सबै कुराले संघियता मास्ने षडयन्त्र स्पष्ट गरिरहेको भन्दै उनले चनाखो रहन नेता कार्यक्रतालाई निर्देशन दिएका छन् ।

पार्टीको झन्डा रातो पृष्ठभुमिमा तारा परिर्वण भएपछि आफुहरुलाई कम्युनिष्ट भन्न थालिएको भन्दै उनले आफुहरु कुनै पनि हालतमा कम्युनिष्ट नरहेको बताएका छन् । नेपालमा न त कम्युनिष्ट पार्टी छ न त कम्युनिष्ट नेता नै छैन उनको तर्क थियो । उनले उपलब्धीको रक्षा गर्ने पार्टी जसपा मात्र रहेकाले राज्यशक्तिले जसपालाई कमजोर बनाउन दुईवटा पार्टी खटाएको भन्दै संगठन बनाएर शक्ति आर्जन गरि प्रतिवादका लागि तयार रहन नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
प्रभु साह र डा. सिके राउतको पार्टीको मुख्य एजेन्डा नै जसपा कमजोर गर्नु रहेको भन्दै जसपाका अन्य नेताहरुले समेत त्यसको भण्डाफोर गर्नुपर्ने तर्क राखेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा आयोजित भेलामा नेता कार्यक्रता नअटेपछि वाहिर साउण्ड लगाएर सुन्ने व्यवस्था मिलाइएको थियो ।

सङ्गठन विस्तार अभियानको शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, नेताहरु मृगेन्द्र सिंह यादव, मो. लालबाबु राउत, मनिष सुमन, नवल किशोर साह सहितकाले आ आफनो धारणा राखेका छन् ।
पार्टीबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरु, मधेश प्रदेश सरकारमा रहेका मन्त्रीहरू, संघीय संसद् तथा प्रदेश सभाका सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू तथा अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको सो भेलाले जिल्ला देखि वडाको बुथ सम्म पुगेर संगठन विस्तार गर्ने अभियानको शुभारम्भ गरेको छ ।