एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : जनकपुरधाममा भगवान रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका–१३ मनीमण्डप स्थित छ । तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकी बिच भएको विवाह यसै मनिमण्डपमा भएको बिश्वास छ ।
पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो वास्तिविक विवाह मण्डप नजिकै भब्य नयाँ स्वरुपले संरचना धमाधम बनाइदै छ । जनकपुरधाम वडा नं. १३ मनिमण्डप स्थित विवाह मण्डपबाट उत्तरतर्फ आकर्षक कलाकृती सहितका भवनहरू बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने विवाहमण्डप बन्दैछ । यो त्यहीँ ठाउँ हो जहाँ त्रेता युगमा राम र सीताको विवाह भएको भन्ने विश्वास गरिन्छ ।
यो सिता पुष्पवाटिका मनिमण्डपको निर्माण भइरहेको छ जहाँ त्रेतायुगमा भएको रामजानकीको विवाह जस्तै धार्मिक रुपमा विवाहहरु गर्न चाहिने सम्पुर्ण व्यवस्थापन हुनेछ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागको संघिय आयोजना कार्यान्वयन ईकाई जनकपुरधामले कुल १८ करोड १५ लाख २२ हजार ९ सय ७३ रुपैयामा निर्माण गर्न लागेको विवाह मण्डपको ठेक्का रबिना कन्ष्ट्रकशन प्रा.ली. स्वयम्भुले अगामि मसिंर २२ गते सम्म निर्माण सम्पन्न गर्ने गरि पाएको छ ।
सुरुमा उक्त संरचना निर्माणका लागि २२ करोड ७७ लाख ९९ हजार रूपैयाँ (भ्याटबाहेक) लाग्ने अनुमान गरिएको थियो । २०७५ साल मसिंर २४ गते ठेक्का सम्झौता भएको आयोजनाको हाल सम्म ७३. ७५ प्रतिशत वितिय र ८० प्रतिशत भौतिक कामहरु भइकेको ईकाइ कार्यालय जनकपुरधामका सुचना अधिकृत ई. लक्ष्मण यादव बताउछन् ।
हाल सम्म १३ करोड ३५ लाख ३६ हजार ६ सय ८ खर्च भइसकेको आयोजनामा पौरानिकता झल्किने राजर्षि राजा जनकको दुई तल्ले दरबार, २५ वडा बेडरुम, २ वटा डायनिङ्ग हल, बरबधुको विश्रामका लागि १ धर्मशाला, १ वटा स्वयमर मण्डप सहित २ वटा मण्डप र २१ वटा शैचालय सहितको निर्माण हुने छ ।
सो मण्डपमा पगलाबाबा धर्मशाला, क्षेत्रीय समाज, हनुमान र रामजानकी मन्दिर, चित्र गुप्त सेवा समिति सहित स साना संरचनाहरु समेत बनाइने छ । जनकपुरधामको वास्तिवक पौरानिक विवाह मण्डपलाई पर्यटनको केन्द्र बनाउन र जनकपुरधामलाई पवित्र र धार्मिक वैवाहिक गन्तब्यका रुपमा विकसित गर्ने उद्देश्यदे सामुहिक विवाह स्थलको रुपमा विकास गर्न सो कार्य भइरहेको देखेर स्थानिय अगुवाहरु पनि खुसी छन् ।
जनकपुरधामको प्रसिद्व श्री जानकी मन्दिर शैलीमा विभागबाट खटेका विशेषज्ञ आर्कीटेकहरुले डिजाइन गरेको सो विवाह मण्डपमा गुठी संस्थानले भौतिक संरचना निर्माणका लागि साढे चार बिघा जग्गा उपलब्ध गराएको छ । ‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन् । मण्डप छेउ प्रसाद र शृंगारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ ।
जानकी मन्दिरकै शैलीमा यी भवनहरूको डोम र गुर्जा बनाउने सम्झौता रहेको र त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनु परेको, कोरोनाको कहर र प्रभाव बिचमै आइपरेको, ६ वटा गुर्जा बनाउन ९ महिना लागेकाले समय लागेको भएपनि हाल धमाधम काम भइरहेको छ । प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङ लगायको काम हुँदैछ । मार्बल लगाइँदै छ । फर्निचर, विद्युत र पेन्टिङको काम भने बाँकी छ । २०५० साल देखि प्रयासरत रहेपनि अव सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दंग छन् ।
गुठीको जग्गाबाट भइरहेको आम्दानीका कारण जग्गा विवाद भएपछि केहि विलम्व भएको आयोजना सम्पन्न हुनै लाग्दा अव देश विदेशबाट तीर्थालुहरू आउने, व्यापार–व्यवसाय बढ्ने भएपछि स्थानियमा बल्ल विकासको आशा पलाएको छ ।जनकपुरधामको मुख्य बजार देखि करिव तिन किलो मिटरको दुरीमा रहेको यो स्थानलाई राज्य र जनकपुरधामकै बजार क्षेत्रका साधुसन्तहरुले मिलेर अहिले सम्म ओझेलमा पार्ने काम गरेको स्थानियको आरोप छ ।