एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : चार दलिय समाजवादी मोर्चा मधेशको बैठकले गौर हत्या काण्डको सम्पुर्ण मुद्दा खारेज गर्नुपर्ने सहितका मुद्दा उठाउने भएको छ । पर्साको बिरगंजमा बसेको मोर्चाको बैठकले गठित मधेश प्रदेश स्तरीय मोर्चाको आइतवार जनकपुरधाममा बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गर्ने क्रममा गौर हत्या काण्डलाई राजनितिक घटना भन्दै सो घटना सहित विभिन्न घटनामा आरोपित, फँसाईएका, झुठा मुद्दा लगाइएका सम्पुर्ण मुद्दाहरु खारेजीका लागि मोर्चाले मांग गर्ने विषयमा छलफल भएको सचिवालयका संयोजक समेत रहेका जसपा नेता लालबाबु राउतले बताए ।
साथै बैठकबाट मार्चाको जिल्ला देखि पालिका स्तरीय संगठनात्मक संरचना निर्माण र विस्तार गर्ने, चारवटै मोर्चा आवद्व दलहरु समावेश हुने गरि जसपाको लालबाबु राउतको संयोजकत्वमा माओवादी केन्द्रका लिलामणी पोखरेल, नेकपा एसका धर्मनाथ साह र नेकपा विप्लव माओवादीबाट त्रिलोक सी सदस्य रहने गरि मोर्चाको मधेश प्रदेश सचिवालयको गठन भएको छ ।
बैठकले संघियता कार्यान्वयका लागि आवश्यक पर्ने आधारभुत ऐन कानुनहरुको निर्माण र कार्यान्वयन गर्न/गराउन संघिय सरकार संग मांग गर्ने, प्रहरी प्रशासन ऐनको कार्यान्वय, प्रदेश मातहत समायोजन गर्न दबाब दिने तथा जनसंख्याको आधारमा सबै भन्दा पिछडिएका प्रदेशको आधारमा मधेशलाई न्यायोचित बजेट बिनियोजन गर्न गराउन मार्चोले ध्यानाकर्षण सहित दबाब मुलक कार्यक्रम गर्ने निर्णय समेत भएको संयोजक राउतले बताए । सो अवसरमा माओवादीका राम कुमार शर्मा, जसपाका शैलेन्द्र प्रसाद साह सहितका नेताहरुको उपस्थित थिए ।