एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : अष्ट्रेलियाको चर्चित युवा व्यवसायी रंजित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । नव–निर्वाचित साह अष्ट्रेलियामा नेपाली मुलका सफल युवा व्यवसायीका रुपमा परिचित व्यक्तित्व हुन् ।
सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मत अध्यक्ष पदमा चुनिएका हुन् । अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि साह २ वर्षको कार्यकालका लागि सर्वसम्मत भएका हुन् ।
साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएका छन् । उपाध्यक्षमा परमानन्द साह चुनिदा महासचिवमा विकास झा चुनिए । कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजक पदमा राकेश साह सर्वसम्मत भए । त्यस्तै सह–कोषाध्यक्षमा रंजित दास र कार्यसमिति सदस्यहरुमा क्रमश आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजय कुमार साह रहेका छन् ।
एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा दर्ता भएको मधेशीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो । नव–निर्वाचित अध्यक्ष साहको अष्ट्रेलियाको प्राय सबै राज्यमा व्यापार व्यवसाय रहेको छ । उनको क्लिनिङ, कन्सट्रकसन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेको बताइन्छ ।