एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : नेपाली कांग्रेसको मधेस स्वास्थ्य विभागले जननायक विपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसर पारेर जनकपुरधाममा गरेको नि:शुल्क स्वास्थ्य शिविरमा स्थानियले लाभ उठाएका छन् । शनिबार नेपाली कांग्रेस मधेश स्वास्थ्य विभागको आयोजना तथा गोदावरी मोडर्न टिचिङ्ग हस्पिटलको सहयोगमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५स्थित नि:शुल्क शिविरको आयोजना गरिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको संयोजकत्वमा सम्पन्न गरिएको सो स्वास्थ्य शिविरमा अर्थोपेडिक, बालरोग, सर्जन, गाइनो, डेन्टल, आँखा, इसीजी, लैब, भिडियो एक्सरे लगायतको सेवा नि:शुल्क प्रदान गरिएको थियो । शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीयले उपचार गराएका छन् ।

नि:शुल्क स्वास्थ्य शिविरमा चिकित्सक अशोक अधिकारी, अश्वनी कुमार झा, सज्जन ठाकुर, देवनारायण साह, मितु झा, कुमार सम्भव, मनिषा भारद्वाज, शशीभुषन ठाकुर, मिशा महासेठ, बिपिन यादव, अमित यादव, श्रीराम शर्मा, सुरेन्द्र कर्ण लगायतले सेवा प्रदान गरेका थिए । शिविरमा सेवा लिन आउनेहरुलाई औषधी समेत नि:शुल्क उलब्ध गराइएको थियो ।

मधेसको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको समेत विशेष उपस्थितीमा समुदघाटन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा मधेसका प्रदेशसभा सदस्य रामसरोज यादव, भारतका प्रजातान्त्रिक नेता डा. आनन्द कुमार लगायतको समेत उपस्थिति रहेको थियो ।