एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि देश भरि आन्दोलन भइरहेको छ । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल सहितका ब्यानरमा कांग्रेसीजन आन्दोलित भएको छ । यसैक्रममा जनकपुरधामका विभिन्न संघसंस्था र युवा क्लवहरुले पनि घटनाको विरोध गर्दै विज्ञप्ती जारी गरेको छ ।
जनकपुरधामको श्री महाविर युवा कमिटि, श्री राम युवा कमिटि र माडवाडी सेवा समिति सहितका संस्थाहरुले पनि घटनाको भत्र्सना गर्दै अपराधीलाई कडा कारवाहीको दायरामा ल्याउन सरकारसंग जोडदार मांग गरेको छ ।

त्यसैगरि नेपाल विद्यार्थी संघले जनकपुरधामको रामानन्दचौकमा चक्काजाम र विरोध प्रदर्शन गरेको छ । विहिवार विहान नेविसंघ र तरुण दलका युवाहरु रामानन्दचौकको पार्क तल विरोध प्रदर्शन गर्दै सरकार र गृहमन्त्री विरुद्व नारावाजी गरेको छ ।
उता प्रतिनिधीसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको मांग गरिएको छ ।
कांग्रेसका सांसदहरुले देशको सांसद, पार्टीका पदाधिकारीहरुलाई नै दिनदाहारै हतियार प्रहार हुने वातावरण बन्नुको कारण र सुरक्षा व्यवस्थाको विषयमा गृहमन्त्री र सरकार संग जवाफ माग्दा सभामुखले सरकारलाई सो को जवाफ दिन रुलिङ्ग गरेको छ ।

कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि बुधवार खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटको विदुर नगरपालिका– ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको छ ।