एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । संघले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले मसाल जुलुसहित विरोध प्रदर्शन गरेका छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटको विदुर नगरपालिका– ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
ढुंगेलका अनुसार ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले यादवमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा सापकोटा पूर्वमन्त्रीसमेत रहेका यादवकै भाषण सुन्दै थिए ।
यादवको निर्वाचन क्षेत्रमा चक्काजाम
घटनाको विरोधमा घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको जनकपुरधाम–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको छ । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरिएको हो । चक्काजामको कारण सवारी साधनहरु जकथक परेको छ भने सर्वसाधारणलाई समेत सास्ती भएको छ ।

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथी दिउँसो काठमाडौंमा भएको सँघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको हो ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका छ्न । लक्ष्मिनियाँमा गरिएको सडकखण्डको चक्काजाम खुलाउन प्रशासनको टोली आन्दोलन स्थलमा पुगेको हो । युवाहरुले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।