एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : दुध उत्पादन गर्ने व्यवसायिक फर्म तथा किसानले मापदण्ड अवलम्बन गरे राम्रो दुध उत्पादन गर्न सक्ने मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले बताएका छन् । मधेश प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी सरोकारवालाहरुसँग प्रदेश सरकारले ल्याएको दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्ब्न्धी मापदण्ड २०८० बारे अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।
उनले भने, ‘गाई भैंसी त यस्तो पशु हो, जसलाई पाल्न कुनै समस्यै छैन । गाईको दुधको त कुरै छाडौं पेट वा किडनीको पथरीमा गाईको गोंत (पिसाब) रामवाण औषधि हो । किसानले गाईको गोंत मिलिग्राममै बेच्यो भने राम्रो पैसा कमाउन सक्छ । तर यहाँ के छ भने सामान्य दुधको आम्दानीमा निर्भर भई किसानहरुले पशुलाई छाडा छाड्ने, खाना उचित मात्रामा नखुवाउने लगायतका समस्या दिइहेका हुन्छ ।
मन्त्री न्यौपानेले यो मापदण्ड कार्यान्वयनका लागि प्रत्येक जिल्ला जिल्लाका पशुविज्ञहरु मार्फत किसानहरु समक्ष प्रचार प्रसार गर्ने बताए । उनले भने यो मापदण्ड कार्यान्वयनमा आएर डेरी व्यवसाय पनि राम्रो ढंगले फस्टाउने र दुध उत्पादन गर्ने पशुको संरक्षण र सम्वद्र्धन पनि हुनेछ ।
कार्यक्रममा उपस्थित स्नेहाज केयरकी संस्थापिका स्नेहा श्रेष्ठले किसानहरु दुध उत्पादन गर्न सक्ने बेलासम्म पशु राख्ने र बुढो भइसकेपछि सडकमा छाडने प्रवृति बढेकाले त्यसलाई रोक्न पशु कल्यण ऐन आवश्यक रहेको बताईन । उनले भनिन् हामी बढी उत्पादनका लागि बाहिरबाट उन्नत जातका भाले पशु ल्याउने गरेका छौं । तर हाम्रो अनुसन्धानले एउटा खुशी गाई भैसीले जति बढी दुध दिन सक्छ त्यति उन्नत जातबाट क्रसिङ्गग गरिएका पशुले दिन सक्दैन ।
पशुको खुशीका लागि समयमा हेरचाह, राम्रो गोठ, उचित आहारको आवश्यकता हुन्छ । यो मापदण्ड कार्यान्वयनमा गाई भैंसी राम्रो उत्पादन गर्न सक्नेछ । कार्यक्रममा एनएफएसीका प्रतिनिधि डा. विमल कुमार निर्मलले सो मापदण्डमा रहेका व्यवस्था र संघ सरकारले ल्याउन लागेको पशुकल्याण ऐन बारे जानकारी गराएका थिए । उनले भने यो मापदण्ड कार्यान्वयनमा आए दुध व्यवसायको विकास र गुणस्तरीयता बढनुका साथै पशु समेत संरक्षित हुनेछ ।
मन्त्रिपरिषद निर्णयबाट तयार भई भदौ १ गतेदेखि नै लागू भएको सो मापदण्ड कार्यान्वयनका प्रक्रिया अघि बढाइएको छ । सो मापदण्डमा दुधालु पशुलाई पाल्न गोठ, पशुपालन र आहारको व्यवस्था कस्तो हुनुपरयो, निर्दयी व्यवहार गर्न नहुने कुरामा जोडमा जोड दिइएको छ ।