एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका डिभिजनल ईन्जिनियर हुमाकान्त मिश्रले स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरु आफ्नै कमीकमजोरीको कारण भ्रष्टाचार आरोपमा फंस्ने गरेको बताउनु भएको छ । मंगलवार अख्तितयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले योजनाको स्वीकृत मापदण्ड, कागजी प्रक्रिया अव्यवस्थापन र पदीय दुरुपयोग लगायतका कमी कमजोरीका कारण स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरु फंस्ने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले मापदण्ड पुरा, कागजी प्रक्रिया पूर्ण रुपमा पुरा र आफ्नो पदीय दायित्व अनुसार काम गरेको खण्डमा जति उजुरी परेपनि अख्तियारको फंस्दैन । कार्यक्रमको सहकार्य गरेका जनकपुरधाम उपमहानरपालिकाका मेयर मनोज साहले एक त कर्मचारी आभावमा काम गर्न समस्या भइरहेको हुन्छ त्यही बखत बेनामी उजुरीको आधारमा अख्तियारले कर्मचारीहरुलाई बिना वजह परेशान गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले बेनामी उजुरीको आधारमा अख्तियारले परेशान गर्ने गरेको र अख्तियारले छानबीनको क्रममा जवाफ पठाएपछि छिनोफानो नगरी लामो समयसम्म अल्झाएर थप पिडा दिने गरेको गुनासो गरेका थिए । कार्यत्रममा अधिकांश कर्मचारी अख्तियारलाई बेनामी उजुरीको भरमा परेशान नगरी काम गर्न वातावरण सहज बनाउनमा सहयोग गर्न आग्रह गरेका थिए ।
अन्तरक्रियामा सहभागीहरुले जनप्रतिनिधि समेतलाई आफ्नो काम, कर्तव्य, अधिकार र दायित्व बारे तालिम दिइएमा कर्मचारीलाई काम गर्न सहज हुन सक्ने बताएका थिए ।