एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
गाई-गोरुको हत्या गर्नेलाई कारवाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनकपुरधाम मशाल जुलुस प्रदर्शन गरेका छन । सोमवार सांझ राप्रपा जिल्ला कार्यसमिति धनुषाले गाई-गोरुको हत्या, भ्रष्टाचारी र तस्करहरुलाई यथाशिघ्र कारवाही गर्न माग गर्दै मशाल जुलुस प्रदर्शन गरेका हुन् ।
जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्व जनकपुरधाम उद्योग वाणिज्य संघबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दैै जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।
सो कोणसभाको सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य सुनिल साहले ४८ घण्टा भित्र गाई-गोरुको हत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही नगरिए गृहमन्त्रीको राजीनामा माग्दै कडाभन्दा कडा आन्दोनलमा उत्रने चेतावनी दिए ।
यस्तै जिल्ला अध्यक्ष रामनरेश यादवले देशमा भ्रष्टाचार र तस्करी फस्टाउनुका साथै गाई-गोरुको हत्या गर्ने जस्ता हिन्दु धर्ममाथि प्रहार भइरहेपनि सरकार केही गर्न नसकेपछि दबाव स्वरुप आन्दोलनमा उत्रेको बताए ।
अध्यक्ष यादवले भने पूर्वनिर्धारित कार्यक्रम अनुसार आज मशाल जुलुस प्रदर्शन गरेका छौं । भोली प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउनेछौं । सो विरोध जुलुसमा राप्रपाका प्रदेश सांसद कन्चन विच्छा सहित जिल्ला तथा केन्द्रिय स्तरका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।