एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्या काण्ड, ललिता निवास प्रकरण र सुन काण्डमा जनताले खुबै चासो देखाएको देखेपछि जनताको ध्यान मोड्न धरानको नयाँ काण्ड नियोजित रुपमा उचालेको बताएका छन् ।
पार्टीको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका साहले जनताले देश बदनाम गर्ने विभिन्न काण्डहरुमा जनताले सरकारले न्याय गर्छ कि गर्दैन ? भन्ने कुराको खुबै चासो राख्न थालेको बेला धरान काण्ड उचालेर नयाँ मोड दिइएको बताए ।
उनले काला धनहरु विदेशमा रहेको भन्दै नेपाललाई लुटेर खानेहरुको सम्राज्य स्थापित भएर सबैले मिलेर खाइरहेको बताए । विभिन्न देशहरुमा बसेर नेपालमा शासन गर्न चाहनेहरु लोकतन्त्रलाई सखाप पारिरहेको उनको तर्क छ । मुठिभरका समुहले देश पालैपालो राज गरि फाइदा लिइरहेको उनले बताए ।
नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको भन्दै छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको बताएका छन् । के नेपालमा लोकतन्त्र छ र जनता साँच्चिकै शासक भइसके ? भनेर प्रश्न समेत गरे । साहले भने, ‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ । तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’
देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको भन्दै पूर्वमन्त्री समेत रहेका साहले केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको बताए । दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेकाले यो शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने उनले बताए ।
प्रतिनिधि सभाको १० वटा समितिमा भइरहेको चुनावमा सत्तापक्ष र प्रतिपक्ष नै नचिनिएको भन्दै उनले दलीय भागवण्डामा सभापति बाँडेर चुनावको नौटंकी देखाइरहेको बताए । साहले ठुला नेता मिलेर देश लुट्ने काम गरेको भन्दै ललिता निवासको छानबिनमा लगौटी लगाइएको बताए ।
साहले गौर हत्याकाण्डको छानबिन गर्दा कुर्सी हल्लिने भएकाले लटरपटर गरेर सरकारले नै कानुनी शासनको खिल्ली उडाएको आरोप लगाए । उनले गौर हत्याकाण्डमा पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी समेत दिए ।