एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ : जनकपुर अञ्चल इट्टा उद्योग व्यवसायी संघको अध्यक्षमा पुन: बिनय कुमार यादव चयन भएका छन् । जनकपुरधाममा संघको शुक्रवार भएको २१ औं अधिवेशनले नगराइन नगरपालिकाको प्रमुख समेत रहेका यादवको नेतृत्वमा पुन: नयाँ कार्यसमिति चयन भएको हो । उनको लगातार यो पाँचौ कार्यकाल हो ।
संघको वरिष्ठ उपाध्यक्षमा लियाकत हुसेन, उपाध्यक्षमा नवल किशोर साह, अर्को उपाध्यक्षमा अरुण कुमार यादव, महासचिवमा लालबहादुर साह, सचिवमा मनोज कुमार मण्डल, सहसचिवमा राकेश नायक, कोषाध्यक्षमा विजय कुमार साह र सह कोषाध्यक्षमा शंकर यादव चयन भएका छन् ।
यादवको नेतृत्वमा १९ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत गठन भएको निर्वाचन अधिकृत दिपेन्द्र साहले बताए । पुन: अध्यक्ष भएका यादवले आफु विश्राम लिन चाहेपनि साथीहरुले नमानेपछि स्वीकार गरेको बताए । उनले आफु ईट्टा व्यवसायी भएकै कारण आज मेयर बन्न सफल भएको पनि सहर्षरुपमा बताए । वातावरणका लागि अनुकुल नभएपनि पहाडबाट ढुङ्गा उत्खनन गरि नालाको काम गरिन्छ, कमिसन धेरै नहुने भएकाले ईट्टा प्रयोग गरिदैन उनले भने, ‘सबै मिलेर अधिकारका लागि नलडे पेशा जोखिममा छ ।’
कार्यक्रममा समुदघाटन सत्रमा बोल्दै संघका केन्द्रिय अध्यक्ष महेन्द्रबहादुर चित्रकारले सरकारको गलत नितीको कारण ईटा व्यवसाय धरापमा परेको र डूब्न लागेको बताएका थिए । अध्यक्ष चित्रकारले ईटा उद्योग व्यवसायलाई उद्योग कम्पनी अन्तर्गत राख्न पटक पटक माग गर्दै आएपनि सरकारले त्यसो नगरेका कारण व्यवसाय फस्टाउन नसकेको बताए ।
उनले भुइचालो र त्यसपछि कोरोनाको चपेटाबाट इटा उद्योग व्यवसायमा गम्भिर असर परेकाले ईटा व्यवसायीलाई बचाउन सरकारले नयाँ निति ल्याउन दबाव दिदै आएको जानकारी दिए । देशमा परेको आर्थिक संकटको असर ईटा व्यवसायमा प्रत्यक्ष परेको पनि उनले बताए ।
कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पनि ईटा व्यवसायी बचाउने सरकारले नीति ल्याउनु पर्ने सुझाव दिए । उद्योग व्यवसायीको विकास हुनाले राजश्व पनि वढने कुरा समेत बुझेर सरकारले नयाँ निती ल्याउनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले सरकारवाट हुने निर्माण कार्यमा इटाको न्यून प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गरे । गतवर्षकै ईटा बिक्री हुन बाँंकी रहेकाले पुँंजी अभावमा ईटा उद्योग बन्द हुने क्रममा पुगेको बताए । कार्यक्रममा ईटा व्यवसायी सत्यनारायण यादव, जयकुमार चौधरी लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।