एसपी रिपोर्टर
मोरंङ्ग, भदौ ५ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले एउटै गल्ती दोहोर्याएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा.कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको फेरी दोहराएको बताए ।
सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको डा. कोइरालाले बताए । प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उनले भने, ‘अदालतले जुन निर्णय गरेको थियो, अस्ति त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोहोर्यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं !’
सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए । पार्टी र सत्ताको राजनीति फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए ।
राज्यसत्ता कमजोर भएपछि न्यायालय सक्रिय हुनु स्वाभाविक हुने उनले बताए । कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा पनि सरकार गठन हुन नसक्ने बताउँदै उनले उपधारा ५ मा पुगेपछि सरकार गठन हुने अवस्था देखिएको बताए ।
प्रहरी अधिकृतको सरुवामा असन्तुष्टि
डा. कोइरालाले नेपाल प्रहरीका अधिकृतको सरुवामा असन्तुष्टि जनाएका छन् । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एआईजी र एसएसपीको सरुवा भएको प्रति उनले असन्तुष्टि जनाएका हुन् ।
‘जुन (प्रहरी सरुवा) निर्णय अहिले सरकारले गर्यो, त्यो चाहिं मलाई आफैं पनि चित्त बुझ्दो छैन’ उनले भने, ‘डीआईजी एआईजीको सरुवा त एउटा प्रक्रियामा हुन्छ, तर चार महिनामै सरुवा गर्दिने चित्त बुझेन भने ?, त्यसरी गर्न थाल्यो भने अप्ठ्यारो परिस्थिति बन्छ ।’
सरकारले अनुसन्धानका लागि राज्यका निकायलाई स्वतन्त्रता नदिएको आरोप लगाउँदै उनले भने, ‘सीआईबीलाई पनि इन्डिपेन्डेन्ट हिसाबले चल्न दिएको भए परिस्थिति अर्कै हुन्थ्यो ।’