एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : दातृ निकायका प्रतिनिधीहरुले देशमा संघियता पछिको सेवा प्रवाह, सुशासन, जनता र जनप्रतिनिधीको उपस्थिती र चाहनाको विषयमा मात्र होइन संघियताको भविष्यका बारेमा पनि चासो व्यक्त गरेका छन् ।
युएनओपिएसको आयोजनामा धनुषाका विभिन्न क्षेत्रका अगुवा तथा प्रतिनिधीहरु संगको अनौपचारिक विर्मशमा ब्रिटिश राजदुतावासका प्रतिनिधीहरु मधु विके र नावेद अजिजले सो विषयमा चासो राख्नुका साथै जनताको चाहना बुझने प्रयास गरेका छन् । तिनै तहको सरकार बिच संविधानत: हुनु पर्ने सहकार्य, समन्वय र सहअस्तित्वको अभावमा जनतालाई के के समस्या भोग्नु परिरहेको छ भन्ने विषय पनि उनीहरुको चासोमा परेको देखियो ।
जनताको सबै भन्दा नजिकको सरकार स्थानिय सरकारका जनप्रतिनिधीहरु, त्यसमा समानुपातिक र समावेशीताको बाटोबाट अवसर पाएका नयाँ अनुहारहरुको उपस्थिती र कार्यक्षमताका विषयमा पनि चासो राख्दै उनीहरुले कमजोर कार्यसम्पादन गर्ने त्यस्ता जनप्रतिनिधीहरुको क्षमता विकासका लागि के के गर्न सकिन्छ भन्ने पनि बुझन चाहेका थिए ।
जवाफमा अगुवाहरुले सदियौ देखि पिछडिएका लागि संघियता पहिचान, अधिकार र विकासको सवालमा पनि उत्कृष्ट देखिएपनि हालीमुहाली भएकाहरुले असफल प्रणालीको रुपमा देखाउन चाहिरहेको र संघियताका पक्षधहरु समेत बाटो विराउँद त्यसको फाइदा लिनेको बताए । मधेश आन्दोलनकी अगुवा विभा ठाकुरले भनिन, ‘भलेही मेरो दल शक्ति र संगठनको हिसावले कमजोर भएर म असफल भए तर म जनकपुरधामको मेयरमा लडने मौका पाउनु पनि संघियताकै देन हो ।’
भ्रष्टाचार अत्याधिक मौलाएकाले संघियता अनुपयुक्त जस्तो देखिन आएको बताउदै नागरिक समाजका अगुवा बिष्णु कुवँरले नागरिक समाज र पत्रकारिता क्षेत्रमा दातृ निकायले लगानी गरि जनताको पक्षमा सबै सरकारलाई प्रतिवद्व र जिम्मेवार बनाउन दबाबमुलक कार्यक्रममा सहभागिता जनाउनुपर्ने बताए ।
दातृ निकायहरु सरकारको सम्पुर्ण अधिन र निर्देशनमा काम गर्ने गरेकाले समेत लागानी जनतामैत्री र उपलब्धी मुलक सावित हुन नसकेको दलित तथा नागरिक अगुवा विनोद महराको तर्क थियो । संघियताका कारण महिला, दलित, जनजाती सहितका अवसरबाट बञ्चित समुदायको प्रतिनिधित्व बढदै गएको महिला अधिकारकर्मी गुञ्जा रायको भनाई थियो ।
पाकिस्तानी नागरिक अजिजले त्यहाँको सरकार, शासन प्रणाली, राजनिति बस्तु स्थितीको बारेमा सुनाएका थिए । कार्यक्रममा युएनओपिएस जनकपुरधामका विजय मस्त झा सहित विभिन्न क्षेत्रका अगुवाहरु सहभागि थिए ।