एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरू भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
एता नागपञ्चमीको अवसरमा जनकपुरधामको बिषहराचौक स्थित बिषहरा मन्दिरमा भक्तजनहरुको भिडभाड लागेको छ । नाग देवताको पुजापाठ गर्न बिहानै देखि मन्दिरमा भिडभाड लागेको थियो ।
साथै जनकपुरधामको तपसीचौक स्थित नागबंशी समुदायको धार्मिक कुट्टी मन्दिर सहितका ठाँउहरुमा नागराजको मुर्ती स्थापना गरि समेत पुजापाठ र दर्शनको व्यवस्था मिलाइएको मन्दिर समितिका अध्यक्ष बैद्यनाथ ठाकुरले बताए ।