एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : राईट टु रि कलका लागि भएको मतदानमा फेल भएका सांसदलाई सचेत गराएर उनीहरूको कार्यशैलीमा भएको कमी कमजोरीबारे छलफल गरिने जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।
जनमत पार्टीका चार जना प्रदेश सभा सदस्य पार्टीको आन्तरिक मूल्यांकनमा अनुत्तीर्ण भएका छन् । आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले भदौ २ गते मतदान गराएको थियो । जसमध्ये चार जना अनुत्तीर्ण भएका हुन् ।
अनुत्तीर्ण हुनेमा सिरहाका त्रिभुवन साह र भाग्य श्री कुमारी चौधरी तथा महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह छन् । साहको पक्षमा २० र विपक्षमा ७८ मत खसेको थियो । चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत खसेको थियो । त्यस्तै, सिंहको पक्षमा १४ र विपक्षमा २८ मत खसेको थियो भने साहको पक्षमा १४ र विपक्षमा २३ मत खसेको थियो ।
प्रदेश सभा सदस्यका सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा यी पदका प्रत्यासीहरू मतदानमा सहभागी थिए । जिल्ला परिषद् सदस्य र सोही क्षेत्रका पार्टीका केन्द्रीय सदस्य समेत मतदानमा सहभागी थिए । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले अनुत्तीर्ण सांसद पदमा गएको धेरै समय नभएकाले फिर्ता नबोलाउने बताए । उनीहरूलाई सचेत गराएर उनीहरूको कार्यशैलीको विषयमा भएको कमी कमजोरीबारे छलफल गर्छौ उनले भने ।
यो अभ्यासले पार्टीको मूल्यांकन पद्धतिलाई बलियो बनाएको उनले बताए । यो पक्रियाको थालनी नै ठुलो प्रयास हो एक पटक कुनै पनि गल्तीको अवसर दिइनुपर्छ, अव ति चार सांसदको कार्यशैली सुध्रिए भने पनि ठुलो उपलब्धी मानिने छ उनले थपे ।
अनुत्तीर्ण सांसद चन्दन सिंह भने प्रदेश सरकारमा श्रम तथा यातायातमन्त्री छन् । संविधानमा सांसदहरूलाई फिर्ता बोलाउने प्रावधान नराखिएको कारण पनि समस्या देखिएको तर आफ्नो पार्टीको घोषणापत्रमा भने यो विषयलाई सम्बोधन गरिएको उनले बताए ।