एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : २०५१ साल भदौं २ गते ‘मास्टर साहेबके कोदारिसँ काटि क खेतमे हत्या भगेलै’ भन्ने हल्ला ले धनुषामा त हलचल मचायो नै देशनै तरंगित बनायो । भर्खरै पञ्चायतकालिन पिडाहरुबाट पिरोलिएका गरिव, किसान र निर्धनहरुलाई सो खवरले मर्माहत बनायो भने ति वर्गको मुक्तीका लागि अभियान अगाडि बढाउदै गरेका माओवादी नेताहरुको आक्रोसको आगोमा घिउ थप्ने काम भयो र त्यसै आक्रोसको जगमा बदला लिने भन्दैै सुरु भयो माओवादी जनयुद्व, जस्को रापताप एक दशक रहयो ।
मास्टर साहेव (शहिद रामवृक्ष यादव) गरिवले मात्र होइन राजनिति नगर्ने मध्यम र धनिकहरुले पनि सम्मानका साथ लिने नाम थियो । किनकी शहिद यादव माओवादी भित्र भएपनि अतिवादी, सर्वसाधारणलाई अनावश्यक दु:ख दिने, अवसरवादी (जसलाई अहिले खाओवादी) भनिन्छ त्यस प्रवृतीको नभई अनुशासित, तर्कशिल, तार्किक र शैद्वान्तिक क्रान्ति गर्ने व्यक्ति रहेको जानकारी बताउछन् ।
‘हुनका अपने पार्टीके अवसरवादीसभ मन नहि परबै छलै’ तत्कालिन जनमोर्चाका नेता धनुषा रघुनाथपुरका देवीप्रसाद पासवानले भने । उ धेरै अवसरवादीहरुको टार्गेटमा पनि थियो भन्दै उनले भने, ‘रामवृक्ष कमरेड जिउँदो रहेको भ माओवादीमै एक पृथक सर्वस्वीकार्य व्यक्तित्व शक्तिको रुपमा रहनुहुन्थ्यो ।’
तिनै शहिद यादवको २९ औं स्मृतिदिवस प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भदौ २ मा मनाइएको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का सचिव लिलामणी पोखरेलले माओवादीले जनयुद्व सम्पन्न होइन स्थगित मात्र गरेको बताएका छन् । उनले निर्वाचन प्रणाली बदलिनुपर्ने भन्दै अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताए ।
शहीद यादवको पैतृक गाँउ धनुषाको बरमझियामा उनको हरकेक वर्ष स्मरण गरिन्छ कहिल्यै पार्टी अध्यक्ष प्रचण्ड त कहिल्यै प्रदेश र जिल्लाका नेताहरु मिलेर उनको स्मरण गर्ने गरेका छन् । पोखरेलले माओवादीले जनताको लागि सुरु गरेको जनयुद्ध अहिले नै अन्त्य भएको नबुझ्न आग्रह गरे । उनने माओवादीले अहिलेका लागि जनयुद्ध स्थगित मात्रै गरेको र आवश्यक परे फेरी जनताका लागि जनयुद्ध सुरु गर्ने बताए ।
पोखरेलले रामवृक्ष यादवले दशकौ अगाडी देखेका सपना अहिले आएर विस्तारै हुदै गईरहेको बताए । २००३ सालमा धनुषाको बरमझियामा जन्मेका शहिद यादव ‘मास्टर साहेब’ का धर्मपत्नी राजनितिमा सक्रिय भइन तर सांसद रहेकै बेला काठमाण्डौंमा खाना पकाउने ग्याँस दुर्घटनामा उनको ज्यान गयो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका बरमझियामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ सालमा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगेका थिए । उनले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाएका थिए । हरेक वर्ष यही दिन सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उनलाई स्मरण गरिन्छ । वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल बनाएर फर्किंदै गर्दा भाद्र २ गते प्रहरीद्वारा षड्यन्त्रपूर्वक उनको हत्या गरिएको थियो ।
अहिले उनका छोरीहरु बोधमाया यादव र सुनिता यादव राजनितिमा सक्रिय छन् । बोधमाया यादव यस अघिको प्रतिनिधीसभा सदस्य र संघिय सरकारकी शिक्षा राज्यमन्त्री थिइन भने सुनिता हाल मधेश प्रदेश सरकारमा पर्यटन मन्त्री हु ।
भदौं १ मा सम्झिने शहिद मण्डल
त्यसै गरि हरेक भदौ १ गते धनुषाको मिथिलेश्वर मौवाहीमा शहिद चन्देश्वर मण्डलको स्मृतीसभा आयोजन हुन्छ । जनयुद्व उत्कर्षमा पुगेर राज्यलाई सहमती र सहकार्यका लागि बाध्य पारी सकेको बेला २०६२ भदौ १ गते उनको हालको हँसपुर नगरपालिकाको वडा नं. २ बघचौरामा राज्य पक्षद्वारा हत्या भएको थियो ।
सो अवसरमा उपस्थित माओवादीका नेताहरुले चन्देश्वर मण्डलले देखाएको बाटोमा हिडे मात्र उनीहरुको सपना साकार हुने भन्दै नेतृत्वलाई ध्यानकर्षण गराएका थिए । शहिद मण्डल पनि माओवादीका प्रखर वक्ता र कमान्डर थिए । आफनो प्रभाव र सक्रियताका कारण उनी राज्यको निशानामा परेको नेताहरु बताउछन् ।
शहिदहहरुको स्मृतिसभामा माओवादीका धनुषा ईन्चार्ज श्रवण यादव बरबरिया, पुर्वमन्त्री भरत साह सहित अन्य दलका बामपन्थी नेताहरुको पनि उपस्थिती थियो ।