एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
जनकपुरधाम उपमहानगरपालिकाका वडाहरुलाई ट्रैक्टर हस्तान्तरण गर्ने कार्यको शुरुवात गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले एक कार्यक्रमका बिच वडाध्यक्षहरुलाई ट्रैक्टर हस्तान्तरण गर्ने कार्यक्रमको शुरुवात गरेका हुन् । उपहमानगरमा सरसफाई नहुने गरेको गुनासो आईरहेको समयमा सरसफाईकैलागि एक वडालाई एक ट्रैक्टर हस्तान्तरण कार्यक्रमको उपमहानगरले शुरुवात गरेको हो ।
नगरप्रमुखमा निर्वाचित हुनुभन्दा अगावै प्रत्येक वडालाई ट्रैक्टर हस्तान्तरण गरेको वाचा अनुरुप वडाहरुका लागि ट्रैक्टर खरिद गरिएको उपमहानगरका प्रमुख साहले बताए ।
विगत २७ हप्तादेखि नगर सफाईका लागि उपमहानगरले जनचेतनामूलक कार्यक्रम प्रत्येक शुक्रबार गर्दै आईरहेको थियो । अब प्रत्येक वडाको सफाईको जिम्मा वडाध्यक्षहरुलाई दिइने गरी ट्रैक्टर हस्तान्तरण गरिएको र चाँडै प्रत्येक वडालाई ट्रैक्टर दिइने नगरप्रमुख साहले जानकारी दिए । यसका साथै आफ्नो घर वा प्रतिष्ठान अगाडी फोहोर गर्नेलाई दण्डित गर्न समेत उपमहानगर अब पछाडी नहट्ने नगरप्रमुख साहको भनाई छ ।
जनकपुरधाम उपमहानगरले इबिडिंग मार्फत ठेक्का दिएर १ करोड ३८ लाख ९० हजार रुपैयाँमा १० वटा ट्रैक्टर खरिद गरेको छ । उपमहानगरसंग यस अघि ५ वटा ट्रैक्टर र ११ वटा ट्रिपर मात्रै थियो । नयाँ ट्रैक्टर खरिद भएसंगै नगर सफाईमा थप सुधार आउने नगरप्रमुख साहले बताए ।