एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : मधेश प्रदेशको पर्यटकीय विकासका लागि संस्कृति र संरचनाका साथै होटल व्यवसायीको पनि ठूलो भूमिका रहेको प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताएकी छिन ।
मंगलवार जनकपुरधाममा होटल व्यवसायी संघद्वारा आयोजित दिगो र इनामदायी रोजगारी परियोजनाका लागि परिस्कृत सीपको संवेदना कार्यक्रम (इन्स्योर) मा बोल्दै मन्त्री यादवले पर्यटकलाई तान्न र टिकाई राख्नमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका हुने गरेको बताईन । उनले भनिन, ‘पर्यटनसँग जोडिएका होटल व्यवसायहरुको लागि हामीले केही बजेट पनि छुटयाएका छौं, सहयोग र समन्वय रहन्छ ।’
एउटा धार्मिक र सांस्कृतिक सहित अन्य पुरातात्विक संरचनाको करिडोर सहितको गुरुयोजना तयार पारेर प्रदेश सरकार अघि बढिरहेको बताउदै मन्त्री यादवले धार्मिक, पुरातात्विक संरचना सहित संस्कृतिमा धनी रहेपनि पर्यटक तान्न नसक्नु र आएका पर्यटकलाई पनि दक्ष जनशक्ति तथा व्यवस्थापन आभावले टिकाउन नसकिनु कमजोरी रहेको बताईन् ।
कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसाय तथा पर्यटन महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले व्यवस्थापन गर्न नसकिरहेको होटल र पर्यटनसँग आबद्ध संचालित कार्यक्रम बेरोजगार र कम पढेलेखेका युवाहरुलाई रोजगारका लागि सुवर्ण अवसर रहेको बताए ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले होटल व्यवसायलाई पर्यटनसँग जोडेर प्रदेश सरकारले विकास गर्नुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा मधेश प्रदेश स्थित होटल व्यवसायीहरुका साथै महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।