एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ :
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नगरको विकासमा गुठी संस्थान बाधक रहेको आरोप लगाएका छन् ।
पापमोचनी समाज सेवा समितिको दोस्रो साधारण सभाको उदघाटन सत्रको प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख साहले नगरको विकास हुन नदिनुमा गुठी संस्थान नै बाधक रहेको बताए । उनले जनकपुरधामको अधिकांश जग्गा गुठीको जग्गा रहेको छ, तर गुठी संस्थानले अग्रसरता नदेखाउँदा विकास पनि हुन नसकिरहेको बताए ।
उनले भने ‘नगरबाट जग्गाको कित्ता काट, नक्सा पास लगायतका काम गुठीकै कारण हुन सकिरहेको छैन जसले उपमहानगरको आय पनि खुम्चिदै गईरहेको छ ।’ उपमहानगरको आय नै खुम्चिदा विकास निर्माणका कार्यहरु समेत प्रभावित हुँदै गईरहेको नगरप्रमुख साहले बताए ।
नगरप्रमुख साहले गुठीले नगरको विकासमा गम्भिरता देखाउँदैन भने त्यस्तो संस्था जनकपुरधामवासीका लागि आवश्यक नरहेको बताए । उनले गुठी संस्थान यी विषयहरुमा गम्भिर नभए उपमहानगरले संस्थानको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिए ।
समितिको अध्यक्ष सच्चिदानन्द मिश्रको अध्यक्षतामा भएको दोस्रो साधारणसभामा संस्थाका सचिव राघवेन्द्र महतोले संस्थाको गतिविधि तथा संस्था गठनको पृष्ठभूमिको विषयमा जानकारी गराएका थिए ।