एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृत सहितको टोलीले धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर सहित दुई जनालाई घुसको रकम सहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अख्तियारको टोलीले उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनु भएको छ ।
नगरपालिकाको गोठकोयलपुर स्थित विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र एक लाख ७५ हजार रकमको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।