एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : धनुषामा जनमत पार्टीबाट एक मात्र वडा अध्यक्षका रुपमा जितेका गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ९ का वडा अध्यक्ष नन्दकिशोर यादवको पद रहने कि गुम्ने भन्ने कुरा आजको जनमत संग्रहको मतदानको मत परिणामले तय हुने भएको छ ।
पार्टीको विधान अनुसार पार्टीबाट जनप्रतिनिधीमा निर्वाचितहरु जनताको हितमा काम गरिरहेको छ/छैन भन्ने कुराको जनमत संग्रह (अप्रुवल रेटिङ्ग)अन्र्तगत शनिवार देश व्यापि कार्यक्रम बमोजिम सोहि वडाको बरमझियामा वडा अध्यक्ष बारे जनमत संग्रह भएको छ । पार्टीका युवा नेता विरेन्द्र यादवका अनुसार निर्वाचनमा वडाका कुल २ सय २५ मतदाता (सदस्य) मध्ये १ सय १ जनाले जनमत संग्रहमा भाग लिएका छन् । जस्मा ६२ पुरुष ३९ महिला छन् ।
के छ पदमुक्त हुने प्रावधान ?
अव सचिवालयको निर्णय अनुसार मतगणना हुनेछ र खसेको मतको पचास प्रतिशत भन्दा कम मत ल्याएको खण्डमा वडा अध्यक्ष यादवलाई पार्टीले पदमुक्त गरि फिर्ता बोलाउने निर्णय निर्वाचन आयोगमा पठाउने छ । खसेको मतको ५१ प्रतिशत मत ल्याउने जनप्रतिनिधीको पद भने सुरक्षित हुने पार्टीको विधानमा छ ।
सो वडामा वडा अध्यक्ष यादव सहित दुई सदस्य गरि तिन जना पार्टीबाट स्थानिय निर्वाचन जितेको छ । पार्टीबाट जितेकी वडा सदस्यहरु निर्मला देवी यादव र पुनम देवी महरा मध्ये यादवले मात्र वडा अध्यक्ष बारे भएको जनमत संग्रहमा मत खसाएकी छिन् । महराको अझै सदस्यता दर्ता भएर नामावलीमा नाम आउन नसकेकाले उनी मत सखाउन पाइनन भने स्वयम वडाअध्यक्षले समेत जनमत संग्रहमा मत खसालेका छन् ।

पार्टीका अनुसार स्थानिय तहमा वडा अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख विरुद्व मात्र जनमत संग्रह हुने प्रावधान छ । पार्टीको यस नितीका कारणले पार्टीबाट जितेका जनप्रतिनिधी जनमत र आफनै नेता कार्यक्रताको हितमा र खुसी पार्र्ने गरि पनि काम गर्न नसकेको खण्डमा पद धरापमा पर्ने देखिन्छ । पार्टीले सो जनमत संग्रहको निर्वाचन अधिकृतको रुपमा जिल्ला संयोजक सुरेन्द्र मण्डललाई खटाएको छ ।