एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मानव अधिकार रक्षाकालागि सबैले आफ्नो स्तरबाट पहल गर्नु आवश्यक रहेको बताएका छन् । यसका सबैले आफ्नो मस्तिष्क र हृदयलाई साक्षी राखेर काम गर्नुपर्ने बताए ।
सभामुख मण्डलले राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय “मानव अधिकारको विश्वव्यापी आवधिक पुनरावलोकनबाट प्राप्त सिफारिस र पाँचौँ राष्ट्रिय कार्ययोजना” सम्बन्धि छलफल कार्यक्रममा संविधानमा उल्लेखित मौलिक हकहरूको कार्यान्वयन गर्नका लागि तीनै तहका सरकार मिलेर काम गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
यद्यपि मानवअधिकार रक्षाकालागि सरकार तथा सम्बन्धित निकायको मात्रै मुख ताक्नु उचित नरहेको सभामुख मण्डलको भनाई थियो । उनले संविधानमै उल्लेख रहेको आधारभूत आवश्यक्ता समेत सरकार पूर्ती गर्न नसकिरहेको समयमा आफ्नो स्तरबाट समेत पहल गर्न अगाडी आउनु आवश्यक रहेको बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कहिलेकाहीँ मानव अधिकारको रक्षा गर्ने क्रममा कसैको अधिकारको हनन हुने गरेकामा दुःख व्यक्त गर्दै त्यसलाई प्रशासनको बाध्यताको रुपमा लिइदिन आग्रह गरे ।
सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्तमान संविधानमा रहेका मौलिक हक राज्यको क्षमताले भ्याएसम्म कार्यान्वयन गर्दै गएको दावी गरे ।