एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जसपा नेतृत्वको मधेश सरकारले जनमत पार्टीलाई एक पछि अर्को गरि निरन्तर हेपिरहेको भएपनि जनमत सरकारमा टाँसिरहेको छ । जनमत संग रहेको उनको एजेन्डा संग समेत मेल खाने विकासे मन्त्रालय खोसेर श्रम तथा यातायातमा सिमित पारेको मुख्यमन्त्री सरोज कुमार यादव जनमत नेतृत्वको अर्को मन्त्रालयमा पनि आँखा लगाएको छ ।
हाल जसपाबाट मन्त्री बनेर बिना विभागीय जस्तै मुख्यमन्त्री कार्यालयमा थन्किएकी मन्त्री सुरिता साहका लागि भन्दै मुख्यमन्त्री यादवले जनमत संग रहेको अर्का मन्त्रालय शिक्षा तथा समाज कल्याणलाई टुक्राउने तयारी थालेका छन् । जनमतलाई शिक्षा मात्र छोडेर महिल, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय थपेर सो मन्त्रालयमा साहलाई ल्याउने तयारी मुख्यमन्त्रीले गरेको छ ।
‘मुख्यमन्त्रीको मनशाय हो, अन्य गठबन्धनकारी दलहरुसंग छलफल भइरहेको छ कुरा मिले क्याबिनेटमा सो प्रस्ताव लगिने छ’, जसपाका एक नेताले भने । जनमत सहित सबै गठबन्धनकारी दलसंग छलफल गरेर सहमती भए मात्र मन्त्रालय थप हुने प्रस्ताव मन्त्रीपरिषदमा जाने भएकाले अहिले छलफलमै रहेको प्रस्ताव बारे ठोस केहि भन्न नसिकने उनले बताए ।
मुख्यमन्त्री यादवको नेतृत्वमा सरकार बन्ने प्रारम्भमै जनमतले आफुहरुको एजेन्डा संग सम्बन्धित कृषि र समाजिक विकास मन्त्रालयमा दावी गरेका थिए । सुरुमा जनमतलाई कृषि दिइएपनि समाजिक विकासबाट स्वास्थ्य हटाएर जनमतलाई शिक्षा मन्त्रालयमा सिमित गरेको मुख्यमन्त्री यादव मन्त्रालय धेरै ठुला बनाउने भन्दै पछि शिक्षामा समाज कल्याण थपेर महिला बालबालिका, युवा तथा खेलकुद क्षेत्र पनि थपेको थियो ।
तर पछि कांग्रेस र नेकपा एसलाई सरकारमा ल्याउन जनमतसंग कृषि खोसेको जसपा अहिले फेरी आफनो पार्टीका मन्त्रीका लागि भन्दै जनमत संग रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालयबाट समाज कल्याणले हेर्ने महिल, बालबालिका, युवा तथा खेलकुद क्षेत्रको बेग्लै एक मन्त्रालय थप्ने तयारी थालेको छ ।
असम्भव रहेको जनमतको दावी
एता सो विषयमा बुझन खोज्दा शिक्षा तथा समाज कल्याण मन्त्री समेत रहेका जनमत मधेश प्रदेश संसदिय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्रीले सो प्रस्ताव अहिले सम्म छलफलमा पनि नल्याएको र पछिल्लो मन्त्री परिषद विस्तार हुँदा अव कुनै मन्त्रालय नफोडने र नथप्ने गठबन्धन दल बिच समहमती समेत भएकाले त्यो असम्भव विषय रहेको बताए ।
त्यसो हो भने मुख्यमन्त्री छलफल गर्नुहुन्थ्यो वा मन्त्री परिषदमा राख्नु हुन्थ्यो उनले भने, ‘मलाई लाग्दैन पछिल्लो सहमतीबाट मुख्यमन्त्री ज्यू पन्छिनु हुन्छ र त्यस्तो परिस्थिती बनाउनु हुन्छ ।’ टुक्रा हुने स्थिती नै आयो भनेपनि अरु कुनै मन्त्रालय मात्र हुने बताउदै यादवले मुख्यमन्त्रीले जनमतसंग थप त्यस्तो व्यवहार गर्ने बिश्वास आफुहरुलाई नरहेको एसपी खवरसंगको कुराकानीमा भने ।