एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ :
धनुषा सहित मधेश प्रदेशको आर्थिक विकासका लागि सरकार गम्भीर नरहेको कुरामा सरोकारवाला वक्ताहरुले आरोप लगाएका छन् ।
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको आयोजना र जनकपुरधाम उद्योग वाणिज्य संघको संयोजनमा जनकपुरधाममा आयोजित धनुषाको अर्थ सामाजिक रुपान्तरण विषयक अन्तर संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले संघ सरकारको गलत निती र प्रदेश सरकारको बेवास्ताका कारण धनुषाको आर्थिक विकासमा टेवा पुग्न नसकेको सरोकारवालाहरुले गुनासो गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रायका सचिव जयकुमार राउतले मन्त्रीहरुको भोट बैंकको हिसाबले बजेट तयार भई योजना वितरण हुने गरेकोमा धनुषा मात्रै होइन प्रदेशका अन्य जिल्लाहरुको पनि आर्थिक र पर्यटकीय विकास हुन नसकेको बताए ।
कार्यक्रममा आयोजक पक्षको तर्फबाट उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले धनुषाको आर्थिक विकासका लागि सरकारी पक्षको कुरा छाडेर कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका कुरामा आफ्नो हिसाबले योजना बनाएर अघि बढनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्मल चौधरीले सरकारकै गलत नितीका कारण उद्योग व्यवसाय धारासायी भइरहेको आरोप लगाए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम सहित मधेश प्रदेशका आर्थिक विरगञ्ज सहित विभिन्न जिल्लाका उद्योग व्यवसायीहरुले धनुषा जिल्लाको आर्थिक विकासका लागि के कस्ता विषय वस्तुमा लगानी गर्न सक्ने र सरकारबाट भइरहेको असहयोगको बारेमा आ आफ्ना धारणा राखेका थिए ।