एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२:
वर्षा र गर्मी मौसमसंगै अहिले देशैभरी आँखा पाक्न रोगको प्रकोप बढेको छ । आँखा पाक्ने रोगको प्रकोप जनकपुरधाम लगायतको क्षेत्रमा समेत बढ्दै गईरहेको छ । शुरुमा सामान्य स्थितिमा रहेको यो रोग अहिले भयावह स्थितिमा पुगेको छ ।
आँखा पाक्ने रोगीहरुको संख्यामा ह्वात्तै बृद्धि भएपछि जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको भिड पनि बढेको छ । शुरुवाती समयमा ५÷६ जना बिरामी मात्रै आउने गरेकोमा अचेल दैनिक ७ सयदेखि ८ बिरामी आउने गरेको जानकी आँखा अस्पतालका प्रमुख डा. आशिष बोहराले जानकारी दिए ।
पछिल्लो केही दिनयता आँखा पाक्ने समस्या लिएर आउने रोगीहरु १ हजारमा ७ सय देखि ८ सयसम्म आँखा पाक्ने बिरामीहरु आउने गरेको आँखा अस्पतालले जनाएको छ ।
बोहराका अनुसार आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक हजार जनासम्म बिरामी चेकजाँचकालागि आउन थालेका छन् ।
दुई साता अगाडी आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामी संख्या ४०÷४५ जना मात्रै थियो । अहिले आँखा पाक्ने समस्या उच्च बिन्दुमा फैलिएको उनले बताए ।
वर्षा र गर्मीको मौसम सुरू भएसँगै यो रोग अहिले देशैभर महामारीजस्तै फैलिएको छ । भारतमा पनि संक्रमण एकदमै धेरै देखिएको छ । जसरी जाडो महिनामा रूघाखोकीको संक्रमण बढ्छ, त्यस्तै आँखा पाक्ने यो समस्या पनि सिजनल फ्लु हो । बोहोराले भने, २÷३ वर्षअघि पनि यसरी नै यो रोग फैलिएको थियो । पछिल्लो दुई वर्ष भने खासै धेरै देखिएन । यो एक महिनायता भने संक्रमित बढेका छन् । तर हामी आत्तिनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन ।
अन्य सामुदायिक आँखा उपचार केन्द्र र गाउँका क्लिनिकहरूमा पनि यस्ता पनि बिरामी संख्या बढेको पाइएको उनले बताए ।
सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँशु बग्ने, घाममा हिँड्न गाह्रो हुने लगायतका यो रोगको लक्षणहरु हुन् । सावधानी अपनाइए यो रोगको संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने बोहरा बताउँछन् ।
यो रोग लागि हाले रोगसँग लड्ने क्षमता बढी भए सामान्यतया चारदेखि पाँच दिन र कमजोर क्षमता भए बढीमा दुई सातासम्ममा निको हुने चिकित्सकहरुको भनाई छ ।
पहिलो चरणमै यो आँखा पाक्ने रोग हो भनेर हामीले पहिचान गर्न सक्नुपर्छ । यो एकदमै धेरै संक्रामक पनि हुन्छ । एउटा आँखाबाट अर्काे आँखामा वा परिवारकै सदस्यहरूमाझ सर्दै जान्छ । त्यसलै सावधानी अपनाउन एकदमै जरूरी छ, बोहराले भने ।
दोस्रो चरणमा बिहान बेलुकी पानीले आँखा पखाल्न र चिसो आइसले सेक्न डा. बोहोरा सुझाउँछन् । यति गर्दा पनि निको नभएको अवस्थामा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।
संक्रमण हुँदा हेर्न गाह्रो त हुन्छ तर दृष्टिमा खासै असर गर्दैन । यसले विशेषगरी आँखाको बाहिरी झिल्लीलाई असर गर्छ, उनले थपे, कोरोना भाइरस जसरी हावाबाट एकअर्कामा सथ्र्याे, त्यसरी त यो सर्दैन । तर संक्रमितले अर्कालाई छुँदा, उसको रूमाल प्रयोग गर्दा, एउटै घरमा बस्दा सर्ने सम्भावना बढी हुन्छ । त्यसैले आँखा पाक्ने बिरामीलाई बेग्लै राख्नुपर्छ ।
सहजताका लागि कालो चस्मा लगाउँदा उपयुक्त हुन्छ । यसलाई सर्नबाट रोक्न बच्चाहरूलाई सकेसम्म बिरामी अवस्थामा स्कुल नपठाउन तथा रोगीहरू भिडभाडमा जान नहुने उनको भनाइ छ ।