एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्त पार्टी र नेपाल सदभावना पार्टी बीच एकीकरण भएको छ । केहि दिन अगाडि मधेश भ्रमण गरेका चौधरी मधेशमा उपस्थिती बाक्लो पार्न देशकै पुरानो मधेश केन्द्रित दल नेपाल सदभावना पार्टी संग एकिकरण गरेको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशम लाल चौधरीले मधेशवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप समेत लगाएका छन ।
आइतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफू साढे वर्षसम्म जेलमा बस्दा यहाँका मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेको तर चुनावमा मेरो नाम भजाउने काम मात्र गरेको आरोप लगाए । आफनो रिहाई र मुक्तीको विषयमा उनीहरु भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम कडाईका साथ गर्न नसकेको उनको तर्क छ ।

मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफू जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भएको उनले बताए । नेता चौधरीले थरुहट प्रदेशमा शासन गरिरहेको नाउपा अगामि निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले नेपाल सदभावना मात्र होइन दुई÷चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा छन उनीहरुसँग पनि एकीकरण गरी आउदो निर्वाचनमा मधेशमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेश क्रान्तिको योद्धाकोण् रुपमा रहेका नेता चौधरी पनि मधेशवादी दलमै आवद्व रहेका बेला पक्राउ परेपनि मधेशवादी दलहरुले उनको रिहाई र न्यायका लागि नाटक गरेर चुनावमा नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।

अहिलेको नागरिक उन्मुक्ति पार्टी थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहने बुझेर आफूहरु एकीकरण गरेको उनले बताए । एकिकरण गर्दा महाधिवेशनसम्मका लािग दुवै दलबीच ३ बुँदे सहमति समेत भएको छ । सहमति अनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम, चुनाव चिन्ह, झण्डा र छाप नागरिक उन्मुक्ति पार्टी कै रहनेछ ।
केन्द्रिय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीको आन्तरिक सहमति अनुसार हुने समेत एकिकरणका सर्त छन् । सो एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।