एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ : मधेश प्रदेश सरकारको मन्त्री परिषद अझै पुर्णता पाउन सकेको छैन । प्रदेशको तेस्रो शक्ति जसपा सरकारको नेतृत्व सहित मन्त्रालयहरुमा पनि मोह गर्न थालेपछि कांग्रेस शसंकित छ भने जनमत सरकार छोडन सक्ने मोडमा आइपुगेका छन् । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए तर त्यसो हुन सकेन ।
गत ११ जेठमा पाँचौं पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि मधेशमा गृह, संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छ भने दुईजना मन्त्रीहरु बिना विभागिय रुष्ट हुदै बसिरहेका छन् । विना मन्त्रालयका मन्त्रीहरुमा जसपाकी सुरिता साह र जनमतका वसन्त कुशवाहा हुन । उनीहरु यस अघि सरकारमा विकासे मन्त्रालयहरु क्रमश समाजिक विकास र कृषि मन्त्री थिए । दुवैजना बिना विभागिय मन्त्रीहरु मुख्यमन्त्री प्रति रुष्ट छन भने कांग्रेस र संघिय सरकारको नेतृत्वकर्ता माओवादी थप मन्त्रालयमा अड्डी कस्दा मुख्यमन्त्रीलाई सकस भइरहेको बताइन्छ ।
आइतवार भने मुख्यमन्त्रीले मन्त्रीहरुको जिम्मेवारी तोक्ने र नयाँ मन्त्री पनि नियुक्त गर्ने चर्चा चुलिएको छ । लालबाबु राउतको बर्हिगमण पछि मुस्लिम समुदाय रुष्ट देखिएकाले मुस्लिम समुदायलाई खुसी पार्न र आफुलाई संसदिय दलमा सघाएकाले कांग्रेस सभापती कृष्णा यादवको सिफारिसमा गृह तथा सञ्चारमा कांग्रेसबाट सप्तरीका मोहम्मद समिमलाई मन्त्री बनाउने तयारी छ भने जसपाकी बिना विभागीय साहलाई श्रम तथा यातायातको जिम्मेवारी तोक्ने तयारी मुख्यमन्त्रीको छ ।
जनमत सरकार छोडन सक्ने
जसपाले स्वतन्त्र जितेर मन्त्री बन्न जसपा आएकी साहलाई मन्त्री बनाउनै पर्ने र मुख्यमन्त्री संग वाँकी रहेको अर्को एकमा कांग्रेसले नै अडान राखेपछि बिना विभागिय मन्त्रीमै काम चलाइरहेका जनमत पार्टी सरकारनै छोडन सक्ने बताइन्छ । जसपाले जनमत सरकार छोडेर जाओस भन्ने चाहि रहेको तर कांग्रेस र माओवादीले जनमतलाई फकाएर राखिरहेको अवस्थामा आइतवार हुने मुख्यमन्त्रीको चयन र जिम्मेवारी भागबण्डा पछि जनमत असन्तुष्ट हुने देखिन्छ । जनमतले गृह तथा सञ्चार वा श्रम तथा यातायात मध्ये एक मन्त्रालय आफुले पाउनुपर्ने बताइरहेको छ ।
आफुहरुले कांग्रेस र नेकपा एसलाई सरकारमा ल्याउन महत्वपुर्ण मन्त्रालय कृषि छोडेर कम्प्रोमाइज गरेको तर अहिले आएर एक मन्त्रीमै सिमित गर्ने षडयन्त्र भएको भन्दै त्यसो भए आइतवार पछि एक्सनमा जाने संकेत गरेका छन् । जनमत पार्टी मधेश प्रदेश संसदिय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्रीको निर्णय पछि मात्र केहि भन्न सकिने बताए ।
हाल मुख्यमन्त्रीकै दल जनता समाजवादी पार्टीका राज्यमन्त्री शेख अब्दुल कलाम आजाद त्यस्तै जनमत पार्टीका राज्यमन्त्री सञ्जयकुमार यादव पनि विना विभागीय छन् । उनीहरुको व्यवस्थापन पनि पार्टी र मुख्यमन्त्रीका लागि चुनौती पुर्ण छ । मधेश सरकारमा मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय छ । थप ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद १४ सदस्यीय छ । सरकारमा जसपाबाट मुख्यमन्त्रीसहित तीन, कांग्रेसका दुई, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका एक–एक जना मन्त्री हाल बहाल छन् ।
दुई मन्त्रालय खाली रहेको र दुई जना विना विभागीय मन्त्री रहेको अवस्थामा मुख्यमन्त्री यादवसँग कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक वटा मन्त्रालय मागेका छन् । तर, मुख्यमन्त्री यादव भने अब लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई थप मन्त्रालय नदिने पक्षमा छन् ।
मुख्यमन्त्रीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग थप मन्त्रालय दिन नसक्ने बताइसकेको बताइन्छ । मुख्यमन्त्री यादव अब मन्त्रालयको संख्या थप्ने पक्षमा छैनन । मधेशमा सत्ता गठबन्धनमा धेरै दल भएकाले पद भागवण्डामा समस्या छ । कांग्रेसले शक्ति बाँडफाँटमा सभामुख पनि आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।