एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ : जनकपुरधाम उपमहानगरपालिकामा एशियाली विकास बैङ्कको सहयोगमा दोस्रो चरणको परियोजना शुरु भएको छ । करिब ३ अर्बको लागतमा शुरु भएको अर्बन रजिलेन्स एण्ड लाईभेवलिटि ईम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत २८ किलोमिटरमा फुटपाथ सहितको सडक र ढलनालाको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।
यसका साथै जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको रत्नसागर पोखरी सहित सो क्षेत्रको पर्यटकीय स्थलको रुपमा सौन्दर्यीकरणमा खर्च गरिने उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र कुमार यादवले जानकारी गराए । परियोजनाको शुभारम्भ गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम–ढल्केवर सडक खण्डको पश्चिमको भागमा पर्ने निर्माण हुन बाँकी रहेको परिक्रमा सडक, रामानन्द चौक देखि कुर्था जाने परिक्रमा सडक, बजरङ्ग चौकदेखि वाल्मीकि चौक हुँदै सीताकुण्ड भएर परिक्रमा सडक, आँखा अस्पताल देखि वाल्मीकि प्रहरी चौकीको सडकको पुन: निर्माण तथा सौन्दर्यीकरण गरिने बताए ।

परियोजनामा एशियाली विकास बैंकले प्रदान गरेको रकम नेपाल सरकार मार्फत ७५ प्रतिशत, जनकपुरधाम उपमहानगरपालिकाको म्याजिक फन्ड ७ प्रतिशत र १८ प्रतिशत नागरिक लगानी कोष मार्फतको सफ्ट लोनबाट पाँच वर्षमा परियोजनाको काम सम्पन्न हुने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

सफ्ट लोन योजना सम्पन्न भएको १५ वर्षमा फिर्ता हुने गरि त्रिपक्षीय सम्झौता भएको नगर प्रमुखले जानकारी दिनुभयो । परियोजनाको म्याद २०२३ देखि २०२८ सम्म ताकिएको छ । उपमहानगरपालिकाले चार अर्व प्रस्ताव गरेकोमा सडक, ढलनाला र तालतलैया सौन्दर्यकरण देखि पर्यटन विकास र सरसफाईमा पनि खर्च हुने बताइएको छ ।