एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ : नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरिव विपन्न दश प्रतिशत विरामीलाई निशुल्क स्वास्थ्य उपचार उपलब्ध नगराउने अस्पताललाई ठेगान लगाउने चेतावनी दिएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको आधारभुत सेवा निशुल्क पाउनुपर्ने प्रावधान संविधानको मौलिक हकमै उल्लेख रहेकाले त्यसको कार्यान्वयनमा सबैले जोडदिनु पर्ने बताउदै कुनै अस्पतालले नगरेको पाइएमा आफुलाई खवर गर्न आग्रह समेत गरेका छन् ।
उनले देशका १६ संघिय अस्पतालहरुमा करिव ३ हजार भन्दा बढि शैया गरिव विपन्न र असहाय विरामीहरुको लागि सुरक्षीत गरिएको बताउदै आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने प्रयासमा सरकार रहेको बताए । मन्त्री बस्नेतले मधेशको बिरगंजमा मृगौला प्रत्यारोपण सहितको सेवा र जनकपुरधाममा ह्ृदयरोगको गुणस्तरीय स्वास्थ्य उपचार सेवाका लागि मधेश सरकारलाई सहयोग गर्नुका साथै मधेशको अन्य छ जिल्लाहरुमा समेत एक एक विशिष्ठिकृत सेवा सहितको अस्पतालका लागि पहल भइरहेको बताए ।
धनुषाको सपही स्थित स्वास्थ्य निर्देशनालयमा आयोजित एक कार्यक्रमका बिच डब्लुएचओले मधेश सरकारका लागि स्थापना गरेको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र नेपाल सरकारका मन्त्री बस्नेत हस्तान्तरण गरेको छ । सो अवसरमा मधेशका भौतीक पुर्वाधार विकास मन्त्री कृष्ण यादव र स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले स्वास्थ्यको बजेटमा मधेश प्रदेशलाई विभेद गरिएको आरोप लगाएका थिए । १६ लाख जनसंख्या भएको प्रदेशलाई ६५ अर्व र ६५ लाख जनसंख्या भएको मधेशलाई मात्र १३ अर्व बजेट छुटयाउनु बिडम्वना रहेको आरोप उनीहरुको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रमेश पोखरेल, अत्तिरिक्त सचिव संगिता कौशल मिश्र, स्वास्थ्य मन्त्रालय मधेशका सचिव डा. प्रमोद कुमार यादव, स्वास्थ्य विभागका महानिर्देशक डा. दिपेन्द्र सिंह सहितको उपस्थिती थियो । साथै विहिवार नै जनकपुरधाममा मधेशका १ सय ३६ वटै पालिका प्रमुख र स्वास्थ्य प्रमुखहरु संग मन्त्री भुषालले अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।