एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ : नेपाली कांग्रेस मधेश प्रदेश समितिले विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई प्रदेश र जिल्ला समितिको जिम्मेवारी तोकेको छ । पार्टी मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा कांग्रेस प्रवेश गरि प्रदेश सांसद समेत जितेका जसपाका तत्कालिन मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ ।
प्रदेशसभा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस भित्रिएर उनी हाल धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ बाट प्रदेश सांसदमा निर्वाचित भइसकेका छन् । त्यसैगरि राजपा परित्याग गरि कांग्रेस प्रवेश गरेका युवा नेता कृष्ण कुमार सिंह, एमालेबाट आएका डा. संजिव कुमार यादव, जसपाबाट आएका बजरंग यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ । साथै नेकपा एमालेको मधेश प्रदेश सदस्य परित्याग गरि आएका गुरुदेव यादव र फुलकुमारी महतोलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ । कांग्रेस प्रवेश गर्दैगर्दा उनीहरु पुर्वर्ती पार्टीमा पनि सोहि पदहरुमा बहाल थिए ।
उनीहरुलाई सो पदहरुमा मनोनयन गर्न पार्टीका केन्द्रिय सह–महामन्त्री महेन्द्र यादवले सिफारिस गरेका थिए । साथै सहमहामन्त्री यादवले जसपा जिल्ला कार्यसमिति सचिव त्याग गरि आएका घनश्याम यादवलाई कांग्रेसको जिल्ला सचिव, जसपाको जिल्ला सदस्य त्याग गरि आएका डा. सत्रुधन यादव र मकेश्वर यादवलाई जिल्ला सदस्य र एमाले जिल्ला सदस्य त्यागेर आएका मुकुन्द यादवलाई जिल्ला सदस्यमै मनोनयन गर्न समेत सिफारिस गरिसकेको छ ।
जिल्लामा सिफारिस गरिएकाहरुको मनोनयन भने हुन वाँकी रहेको बताइएको छ ।