एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : धनुषाको नगराइन नगरपालिकाले धान दिवस मनाएको छ । २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा नगराइन नगरपालिकाले “हरियो खेती खुशी किसान, समृद्ध नगराइन नगरपालिकाको पहिचान” भन्ने मूल नाराका साथ धान रोपेर धान दिवस मनाएको हो ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख विनय यादवले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए । उनले यहाँको प्रमुख समस्या रसायनिक मलको रहेको भन्दै सर्वाधिकार नेपाल सरकारसमक्ष रहेकाले नगरपालिकाले सहजता मात्र गर्न सक्ने बताए ।
उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ, त्यसमा नियन्त्रण सहितका सर्वाधिकार नेपाल सरकारको रहेको छ डिलरबाट किसानसम्म पुरयाउन नगरपालिकाले सहजता मात्र गर्न सक्छ । यसकालागि हामीले पहल गर्नेछौँ । नगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिँचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको जानकारी समेत मेयरले दिए ।
कार्यक्रममा नगरपालिकाका कृषि अधिकृत गंगाराम यादवले नगरभित्र कृषि उत्पादकत्व बढाउन विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख राधादेवी यादव र कमला बचाउ अभियानका संयोजक विक्रम यादवले किसान खुसी भए मात्र देश खुसी हुन सक्ने भन्दै किसान मैत्री कार्यक्रममा जोड दिन तिनै तहको सरकारलाई आग्रह गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन नगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । साथै सो कार्यक्रममा कृषकहरूको सहभागी रहेको थियो ।