एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालमा चरम भाषिक विभेद र असमानता रहेको टिप्पनी गरेका छन् । जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका यादवले नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननिय भाषाको रुपमा प्रयोग हुनु भाषिक विभेद र असमानताको पराकाष्ठा रहेको बताएका छन् ।
यादवले नेपाली भाषा भन्दा नेपालमै बोलिने अन्य धेरै भाषाहरु अत्यन्त प्राचिनतम रहेको दावी गर्दै मिथिला माण्डवी, नेपाल, तामाङ्ग जस्ता भाषाहरु नेपाली भन्दा पनि प्राचिन रहेको तर्क गरेका छन् । खस बाट पर्वते र गोर्खा हुदै वि.सं. १९३३ मा गोर्खा भाषा प्रकाशनी समिति बन्दै १९७० मा सोहि समितिलाई नेपाली भाषा प्रकाशनी समिति बनाएर नेपाली भाषाको रुपमा प्रचार गरिएको हालको नेपाली भनिने यो भाषालाई राज्य शक्तिको बलमा एकल र र्निविकल्प भाषाको मात्र अधिपत्य जमाइनु अधिनायकवाद रहेको उनले बताए ।
सो कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख, सभामुख, कांग्रेसका फरमुल्ला मन्सुर सहित हरेक राजनितिक दलका नेताहरु, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर लगायतकाले आ–आफनो धारणा राखेका थिए ।