एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : जनकपुरधाममा सरकारी स्तरबाट न्युरो ट्रमा सेन्टर हुनु आवश्यक रहेको चिकित्सकहरुले जोड दिएका छन् । जनकपुर न्युरो हस्पिटलले आयोजना गरेको सिएमई कार्यक्रममा बोल्दै बरिष्ठ न्युरो सर्जन पवन सुल्तानियाले सरकारी स्तरबाटै न्युरो ट्रमा सेन्टर हुनु आवश्यक रहेको बताए ।
पछिल्लो समयमा न्युरोका बिरामीहरु समयमै उपचार नपाएर अनाहकमै ज्यान गुमाउनु परिरहेको समयमा ट्रमा सेन्टर सरकारी स्तरमै जनकपुरधाममा संचालनमा आउनु आवश्यक रहेको सुल्तानियाले बताए । जनकपुर न्युरो हस्पिटलले आफनो वार्षिकोत्सव मनाउने क्रममा चिकित्सकहरुको सहभागितामा सिएमई कार्यक्रमको अयोजना गरिएको थियो ।
सो कार्यक्रममा चिकित्सकहरुले विभिन्न रोगहरुको विषयमा गरेको अध्ययन अनुसन्धान तथा विभिन्न रोगका रोगीहरुको उपचार पद्धतिको विषयमा छलफल गरिएको थियो । सो कार्यक्रममा ओपीडी र ईआर, नर्सिंग केयर अफ क्रिटिकल इल पेसेन्ट इन आइसीयु, सर्जरीको अनुभव, इआर मेनेजमेन्ट अफ पोलीट्रमा अफ क्रिटिकल इल पेसेन्ट लगायतको विषयमा छलफल गरिएको थियो । न्युरो अस्पतालहरुमा प्रत्येक साता सिएमई कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ ।
यस प्रकारको कार्यक्रमले चिकित्सकहरुको चिकित्सकिय ज्ञानमा हभिवृद्धि हुने चिकित्सकहरुको भनाई छ । सो अवसरमा हस्पिटलका सञ्चालक डा. विजय राउत, डा. अनिल मिश्र, चिकित्सकहरु, नर्श, कर्मचारी तथा शुभेच्छुकका साथै अन्य अतिथि चिकित्सकहरुको सहभागिता रहेको थियो ।