एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निरन्तर विरोध भइरहेको छ । अदालतको आदेशको विरोधमा नागरिकताविहीन युवाहरूले मंगलबार पनि विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठाउँठाउँमा टायर बालेर सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाविरुद्ध नाराबाजी गरेका छन् ।
धनुषाका मिथिला नगरपालिका नक्टाझिजमा नागरिकताविहीन युवाहरूले एमालेका अध्यक्ष केपीशर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको पुतला दहन गरेका छन् । त्यस्तै, उनीहरूले धनुषाको वीरेन्द्रबजारमा विरोध र्याली निकालेका छन् । र्यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
त्यसक्रममा उनीहरूले सर्वोच्च अदालतका न्यायाधीशका साथै यो ऐनको विरोध गर्दै आएका पार्टी र तिनका नेताहरूविरुद्ध नाराबाजी गरेका छन् । नागरिकताविहीन युवाहरूको आन्दोलनमा विभिन्न दलका जनप्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाएका छन् । यसैबीच, नागरिकताविहीन युवाहरूले बुधबारबाट काठमाडौँमा पनि आन्दोलन थाल्ने जनाएका छन् ।
अब वारपारको लडाईँ हुने र यसका लागि नागरिकताविहीन युवाहरूलाई काठमाडौँ आउन नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष ईन्द्रजित साफीले आग्रह गरेका छन् । उनीहरूले राज्यले आफूहरूलाई सँधै अनागरिक बनाइराख्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुवा–आमा नेपाली नागरिक भएर पनि सन्तान नागरिकता नपाउने अवस्था श्रृजना गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । आफूहरू कहाँको नागरिक भनेर उनीहरूले राज्यसँग प्रश्न पनि गरेका छन् ।
जन्मसिद्ध नागरिकका लाखौँ सन्तान नागरिकता नपाएर विभिन्न समस्या खेप्दै आएका छन् । राष्ट्रपति यो विधेयक प्रमाणीकरण गरेपछि गृह मन्त्रालयले नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गरेको थियो । संशोधित व्यवस्था अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने भएका थिए ।
यो संशोधन अनुसार पहिचानको आधारमा तेस्रो लिंगीले र राजनीतिक बाहेकका अधिकार पाउने नागरिकता आप्रवासी नेपालीहरूले पाउने भएका थिए । त्यस्तै बावुको पहिचान नभएको घोषणा गरी आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था पनि यो कानुनले गरेको थियो । विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था यो कानुनले गरेको थियो । तर, आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यो ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नागरिकताविहीन युवाहरू आक्रोशित बनेका हुन् ।
त्यस्तै, नागरिकता ऐन कार्यान्वयनको माग गर्दै विभिन्न विद्यार्थी तथा युवा संगठनहरूले पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले जनक चौकमा टायर बालेर प्रर्दर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी पनि भएको थियो । प्रदर्शनसँगै भएको कोणसभामा विद्यार्थी नेताहरूले न्यायाधीश, नेकपा एमालेललगायत ऐनको विरोध गर्नेहरूप्रति आक्रोश व्यक्त गरेका छन् । नागरिकतासम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निरन्तर विरोध भइरहेको छ ।
त्यसैगरि विद्यार्थी जनमत संघका विद्यार्थीहरूले पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ जनमत संघका विद्यार्थीहरूले जनक चौकमा प्रदर्शन गरेका हुन् । उनीहरूले नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिक्षाने र राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन लगायत विरुद्ध नाराबाजी गरेका छन् भने उनीहरुको पुत्ला समेत दहन गरेको छ । नेपाली नागरिकलाई अनागरिक बनाइराख्ने षड्यन्त्र भइरहेको उनीहरूको आरोप छ ।
उनीहरूले सर्वोच्च अदालतका न्यायाधीशका साथै यो ऐनको विरोध गर्दै आएकाहरूको विरुद्ध पनि नाराबाजी गरेका छन् । बुवा–आमा नेपाली नागरिक भएर पनि सन्तान नागरिकता नपाउने अवस्था श्रृजना गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
यसैबीच, नागरिकता ऐन कार्यान्वयनमा रोक लगाइएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी धनुषामा प्रदर्शन गरेको छ । मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा कार्यकर्ता धनुषा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले नागरिकता ऐन तत्काल लागू गर्न माग गरेका छन् ।
उनीहरूले नागरिकता विहीनलाई नागरिकता दिन माग गर्दै नाराबाजी पनि गरेका छन् । प्रदर्शनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू जितेन्द्र सोनल, परमेश्वर साहलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।