एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ । जनकपुरधाम स्थित उद्योग बाणिज्य संघले मन्त्री रिजालको सम्मानमा आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले यस्तो बताउनु भएको हो ।
उहाँले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताउनु भयो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उहाँले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो ।
उहाँले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताउनु भयो । देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताउनु भयो । उहाँले पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा बिरोध भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।
सो अवसरमा संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका पदाधिकारीहरुले मन्त्री रिजाललाई विभिन्न मांगहरु सहितको ज्ञापन पत्र बुझाएका थिए । संघेले बुझाएको ज्ञापन पत्रमा जलेश्वर भन्सारको स्तरोन्नती गरि समुन्द्र पार सम्म सहज आवागमणका लागि बिशाखापटन तथा हलदिया बन्दरगाह सम्म सहज पहुँचको लागि पहल गरिदिन देखि उद्योग व्यवसायमा वृद्वि गरि युवालाई देशमै सदुपयोग गर्ने सम्मको विभिन्न छ बुँदाहरु समेटिएको छ ।
कार्यक्रममा मधेश प्रदेशका भौतीक पुर्वाधा विकास मन्त्री कृष्ण प्रसाद यादवले अव राजनितिक दलहरु विभिन्न मुद्दामा लडने समय नरहेको भन्दै विकास र त्यसमा पनि अव सडक नाला भन्दा अद्यौगिक र सृजनशिल विकास आवश्कय रहेको बताउनुभयो ।
कांग्रेसका वरिष्ठ नेता तथा अनुशासन विभाग प्रमुख आनन्द प्रसाद ढुङ्गानाले जनकपुरधामको विकासका लागि पर्यटन, उद्योग, कृषि, शिक्षा र स्वास्थ्य आवश्यक रहेको बताउदै अव राजनिति भन्दा पनि विकास प्राथमिकतामा पर्नुपर्र्ने बताए । आफुले रामनगरको चिन्नी मिल स्थापनामा व्यवसायीहरुलाई दबाब दिएर गर्न लगाएको स्मरण गर्दै उनले आज चिनी उद्योग सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
सो अवसरमा मन्त्री रिजाल सहित प्रदेश सरकारका मन्त्री यादव, नेता ढुङ्गाना, प्रदेश सांसद शेषनारायण यादव सहितकालाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साह, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साह सहितको सक्रिय सहभागिता थियो ।