एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित रहेको बताएकी छिन् । उनले नगरपालिकाको अनैतिक तथा कानून विपरित काममा सहमति नजनाउँदा आफुलाई ज्यान मार्ने धम्की देखि अंगभंग गरिदिने सम्मको धम्की प्रत्यक्ष रुपमा दिइएको बताइन ।
गौशाला नगरपालिका २ निगौल स्थित नीजि जग्गामा सार्वजनिक सम्पति बनाउन लाग्दा परेको उजूरी छलफलको क्रममा निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको भाञ्जा सुरेन्द्र महतोले ज्यान मार्ने धम्की दिएको उनले दावी गरिन । उनले भनिन, ‘मलाई नियोजित रुपमा मेरै कार्यकक्षमा ज्यान मार्ने प्रयास भएको छ । अफिसको समय सकिदा भिडभाड नभएको मौका छोपेर पूर्व योजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास गर्यो ।’
नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपमेयर महतोले संविधानले उपमेयरलाई दिएको अधिकारको वेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफुखुशी गर्न खोज्ने र आफु अनुकुल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरित काम गर्न दबाब दिने गरेको दावी गरिन ।
गौशाला नगरपालिकाको वडा नं. २ निगौलमा नीजि व्यक्तिको हकभोगको जग्गामा नगरपालिकाबाट विनियोजित ३० लाख बजेट कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीको न्याय निरुपणका लागि लेखि पठाएकोमा न्याययिक समितिमा छलफल गराउँदा ज्यान नै जोखिममा परेको बताईन् ।
उनले भनिन, ‘वडा अध्यक्षले मलाई धम्काउँदै तेरो के अधिकार छ ? निगौला किन गईस् छानविन गर्न, अब देखि गईस् भने हातखुट्टा भाँचिदिन्छु भन्दै हातपातमा उत्रदै नगरपालिका प्राङ्गणमा टोले गुण्डाहरु बोलाएर अपराधिक परिस्थितिको सृजना गरेको छ ।’ ‘म आफै न्याययिक समितिको संयोजक हुँ, अरुलाई न्याय निरुपण गरेर सहयोग गर्दै आएकी छु, तर अब म आफै न्याय खोज्न कहाँ जाउँ ? मलाई मेरो ज्यान असुरक्षित महशुष भइरहेको छ, उनले थपिन ।